काठमाडौं । सगरमाथाको आधार शिविर तथा छ हजार मिटरभन्दा माथिको उचाइमा रक्तदान गरी विश्व कीर्तिमानी कायम राख्न चार रक्तदाताले प्रयास गर्न लागेका छन् ।
छ हजार मिटरभन्दा माथिको उचाइमा पुगेर आगामी जेठ १५ गते (जुन २८) मा रक्तदान गर्ने उनीहरुको योजना छ । त्यस्तै आधार शिविरमा ३० जनाले रक्तदान गर्ने कार्यक्रम छ । सो प्रयास गर्न लागेकामा भोजपुरका दीपक राई, सुशीला राई, चन्द्रकुमार राई र सप्तरीका सञ्जीव चौधरी रहनुभएको छ । तीमध्ये दीपकले हालसम्म ६३ पटक रक्तदान गर्नाका साथै छ हजार मिटरमाथिका योल्ला पिक, मिटर लाङ्टाङ, मिरा पिक र आइसल्यान्ड जस्ता हिमालको आरोहण गरिसक्नुभएको छ ।
छ हजार मिटरभन्दा माथि चार रक्तदाताले रक्तदान गरी विश्वकीर्तिमान कायम गरिने आयोजक भोजपुरे सेवा समाजले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सगरमाथामा आधार शिविरमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गर्ने तथा रक्तदानसम्बन्धी थप जनचेतना बढाउनाका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक्तदान आयोजना गर्न लागिएको समाजले जनाएको छ । सो कार्यक्रमका लागि रु दुई करोड ८० लाख खर्च हुनेछ ।
आधार शिविरमा आयोजना हुने रक्तदान कार्यक्रमले जीवनदानसँग जोडिएको सामाजिक सेवा मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय पहिचान कायम गर्न मद्दत पुग्ने आयोजकको जिकिर छ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सगरमाथामा रक्तदान गर्ने साहसिक अभियानको सफलताका लागि शुभकामना व्यक्त गर्दै उक्त कार्यले मानवीय सेवासँगै विश्वमा नेपालको पहिचान कायम गर्न सहयोग पुग्ने बताए ।उनले अभियानले नेपाललाई नौलो पहिचान दिनाका साथै भूकम्प र नाकाबन्दीबाट शिथिल मुलुकको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने बताउँदै अभियान सफल तुल्याउन सरकारका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।
सरकारका प्रवक्ता राईले देशमा नयाँ संविधान जारी भई आर्थिक समृद्धिको दिशातर्फ अघि बढिरहेको सन्दर्भमा पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हुने उल्लेख गर्दै त्यसका लागि अन्तर्राष्ट्रिय अभियानले सहयोग पुग्ने बताए ।
पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले अन्तर्राष्ट्रियस्तरको साहसिक अभियानले देशको पहिचानलाई विश्वमा फैलाउन र सङ्क्रमणमा परेको पर्यटन उद्योगको पुनरुत्थानका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले अभियानलाई सार्थक बनाउन विभागका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए ।
उच्च हिमाली क्षेत्रमा रक्तदान गर्नेजस्तो साहसिक र जोखिमपूर्ण कार्य गरी विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले जानकारी दिए ।