गणतन्त्रका महानायक गिरिजाप्रसादलाई यसरी सम्झिए नायकहरुले
प्रकाशित २०७४ चैत ७ बुधबार
268
Shares
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले राजाले पार्टीहरुका बिचमा धेरै खेल्दा उनी नै बढारिएर मुलुकमा गणतन्त्र आएको बताएका छन्।
राजधानीमा ‘गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्र’ले कोइरालाको आठौं स्मृती दिवसका अवसरमा बुधबार गरेको कार्यक्रममा बोल्दै नेपालले दलका नेता पिच्छे फरक फरक कुरा गर्ने र दलहरुलाई जुधाउने राजाको खराव प्रवृतिका कारण राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउनु परेको बताए ।
‘राजाले पार्टी पिच्छे नेताहरुलाई बोलाएर एक्ला एक्लै भेट्ने अनि जुधाउने काम गरे, पार्टीलाई जुधाउने गलत प्रवृतिकै कारण राजा फ्याँकेर गणतन्त्र ल्याउनु पर्ने अवस्था आयो,’ नेता नेपालले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गणतन्त्र ल्याउन गिरिजाप्रसाद कोइरालाले नायकको भूमिका निर्वाह गरेको भन्दै सूक्ष्म ढंगबाट राजनीतिलाई दुर भविष्यसम्म हेर्ने कोइरालामा महान खुबी रहेको समेत बताए।
‘राजनीतिलाई एकै पटक नभइ सूक्ष्म ढंगबाट नियाल्ने क्षमता कोइरालामा थियो, उहाँले दुर भविश्य हेरेर मुलुकमा गणतन्त्रका लागि पाइला चाल्नु भएको हो, त्यहीबाट उहाँ महानायक बन्नु भयो,’ नेपालले भने ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली राजनीतिमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री गरिजाप्रसाद कोइराला नै भएको जिकिर गरे। सिटौलाले शक्ति आफ्नो हातमा रहँदा पनि शक्तिको कम प्रयोग गरेर मुलुकलाई जिताउने काम कोइरालाले गरेको बताए । उनले वर्तमान सरकार शक्ति आफ्नो हातमा लिएर सामन्तवाद सृजना गर्न लागेको भन्दै जिपि कोइरालाबाट नेता कसरी बन्ने भन्ने पाठ सिक्न आग्रह गरे ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाली राजनीतिक आन्दोलनको पहिलो खुड्किलो २००७ सालको आन्दोलन देखि २०६२/०६३ सम्मको पूर्णताको आन्दोलनलाई हाँक्ने एउटै व्यक्ति जिपि कोइराला मात्र भएको बताए ।
कांग्रेस नेता डा रामशरण महतले कहिल्यै पनि नसकिने उर्जा र नथाक्ने व्यक्तित्व जिपि कोइरालामा रहेको भन्दै राष्ट्र, लोकतन्त्र, जनताको अधिकार र राष्ट्रको समुन्नतिका लागि कोइराला मुर्धन्य व्यक्तित्व भएको बताए ।
केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता भीमसेनदास प्रधान, प्रदिप पौडेल, गुरु घिमिरे, नेविसंघका महामन्त्री कन्दन काफ्ले लगायतले जिपि कोइरालाको योगदानको जति चर्चा गर्दा पनि कम हुने भन्दै राष्ट्रले नै उनको सम्मान गर्नु पर्ने धारणा राखे ।