स्याङ्जा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल स्याङ्जाले स्थानीय तहमा तरुण प्रशिक्षण शुरु गरेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा तरुणदलले सबै तरुणहरुलाई प्रशिक्षित गराउन प्रशिक्षण शुरु गरेको हो ।
भीरकोट नगरपालिकामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै कांग्रेस पार्टी सभापति तथा पुर्व सांसद कमलप्रसाद पंगेनीले तरुण युवाहरु जाग्ने बेला आएको बताए । कांग्रेस कमजोर भयो भन्ने मनस्थितिमा रहेको सरकारलाई चुनौती दिदै सभापति पंगेनीले कांग्रेस जनताको पार्टी भएकाले कमजोर नठान्न आग्रह गरे । कांग्रेस सत्तामा रहदा गरेको विकास निर्माणका कामलाई जनताका माझ लैजान सबै तरुण युवाहरुलाई सभापति पंगेनीले आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सांसद तथा तरुणदल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले कांग्रेस पराजित भएको मानसिकता नलिन युवाहरुलाई सुझाए । जनताको सेवक बनेर गाउँ गाउमा जान उर्दी जारी गर्दै मल्लले अफ्ठ्यारो अवस्था आएमा जिल्ला तरुदललाई सम्झन पनि आग्रह गरे । कार्यक्रममा कांग्रेस जिल्ला सचिव कुमार राना, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, महाधिवेशन प्रतिनिधि बिष्णु पौडेल, महिला नेतृ ईन्दिरा केशी, भीरकोट नगरपालिका तरुदलका अध्यक्ष राजकुमार गुरुङ लगायतका बक्ताहरुले कांग्रेसलाई बलियो बनाउन तरुणदल जुरमुराउनु पर्ने बेला आएको बताएका थिए ।
कार्यक्रममा भीरकोट नगरपालिका भित्रका तरुण युवाहरुको सहभागिता रहेको थियो । तरुणदल स्याङ्जाले कालिगण्डकी गाउपालिका सहित गल्याङ, चापाकोट नगरपालिकामा प्रशिक्षण कार्यक्रम गरिसकेको छ । बाकी रहेका स्थानीय तहमा छिट्टै प्रशिक्षण गरिने तरुणदल स्याङ्जाका सहसचिव रविन केशीले जानकारी दिए ।