कांग्रेस वैठकमा जिम्मेवारी वोधले गए नरहरि, नविन्द्रले प्रश्न गरे तपाई नेताहरू कहिले मिल्ने ?
प्रकाशित २०७४ चैत १० शनिबार
820
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । कांग्रेसलाई सुदृढ गर्नका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्ध हार्दिक हुनुपर्नेमा उनले जोड दिएका हुन् ।
‘‘कांग्रेस र नागरिकबीचको सम्बन्धलाई व्यवस्थित गर्न तर्फ लाग्दा सभापति र वरिष्ठ नेताबीचको सम्बन्ध हार्दिक भएन भने त्यसले कति राम्रो होला ?’’ केन्द्रीय सदस्य जोशीले बैठकमा प्रश्न राखे ।
जोशीले कांग्रेसका शीर्ष नेताहरुको बीचमा निरन्तरर छलफल र बहस हुनु पर्नेमा जोड दिए । ‘‘कुनै पनि मुद्दामा निरन्तर छलफल भएर त्यसलाई तल्लो तहसम्म लाने व्यवस्था पनि कांग्रेसले सुरु गर्नु पर्दछ ।’’ केन्द्रीय सदस्य जोशीले भने ।
लोकमान प्रकरण, प्रधानन्यायाधिश प्रकरण, ईयुको हस्तक्षेपकारी भूमिका आदिको नामै लिएर उनले अगामी दिनमा कांग्रेसले समसामयिक मुद्दाहरुलाई तत्काल सम्बोधन गर्ने परिपार्टीको सुरुवात गर्नु पर्ने पनि बताए ।
नेता नरहरि आचार्यले आफूलाई कांग्रेसको सदस्यको जिम्मेवारी बोध भएर नै समीक्षा बैठकमा उपस्थित भएको प्रतिक्रिया दिए । ‘‘पार्टीले चुनावको समीक्षा गर्दै गर्दा मलाई पनि जिम्मेवारी बोध भएको छ । पहिले बिरामीको मात्रै बोध हुन्थ्यो, अहिले बिरामीभन्दा पार्टीको सदस्यको जिम्मेवारी बोध भएको छ ।’’ उनले भने ।
‘‘कांग्रेस पराजयको स्थितिमा सबै नेताहरु गम्भीर भएको पाएको पाएको छु’’, आचार्यले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भने ‘‘बैठकले मात्रै सबै कुरोको निर्धारण गर्न भ्यादैन होला तर यसले पनि लिने निर्णयले केही मात्रामा सकारात्मक योगदान दिनेछ ।’’