नेपालगन्ज । कांग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् । उनले नेतृत्व परिवर्तनको विकल्प नभएको समेत बताएका छन् ।
प्रेस युनियन, बाँकेले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।’
नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो, भने ।
उनले कांग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भन्दै सञ्चाकर्मीको प्रश्नको जवाफ दिए ।
अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भने, ‘अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।’