धनगढी । इष्ट इन्डिया कम्पनीले करिब डेढ सय वर्षअघिदेखि सञ्चालनमा ल्याएको नेपाल–भारत सिमानाको गौरीफन्टा बजार भारतको उत्तर प्रदेश सरकारले बिस्थापित गराएको छ ।
छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश सरकारले हटाउने निर्णय गरेको दुई वर्षपछि पूर्णरूपमा गौरीफन्टा बजार विस्थापित भएको छ ।
उत्तर प्रदेश सरकारले सीमावर्ती बजार गौरीफन्टा हटाए पछि भारतीय दुधुवा निकुञ्ज भित्रबाट पश्चिम नेपाल सीमामा आउने सडक समेत बन्द हुन सक्ने आशंकाले व्यवसायी चिन्तित भएका छन् ।
एसियाको दोस्रो ठूलो दुदवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण क्षेत्रभित्र रहेको गौरीफन्टा बजार भारतको उत्तरप्रदेश सरकारले दुई वर्षअघि नै हटाउने निर्णय गरे पनि यस पटक कडाइका साथ हटाइएको हो ।
७ नम्बर प्रदेशको राजधानी धनगढीको सीमावर्ती गौरीफन्टा बजार पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिएको छ । गौरीफन्टा नाकालाई नेपाली पक्षले पटकपटक स्तरोन्नति गर्न माग गरिरहँदा भारतीय पक्षले निकुञ्ज संरक्षणका नाममा सीमा बजार नै विस्थापित गरेको हो ।