arrow

प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले गरे पत्रकारहरुलाई पुरस्कृत

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
rajan-kuikel-reporters-club.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै भएको बताए। 

“वाम सरकारले सञ्चारमाध्यमलाई अनुचित थिचोमिचो गर्छ भन्ने हल्लामात्रै हो, त्यसको पछि नलाग्न म आग्रह गर्छु, सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ”, प्रधानमन्त्री ओलीले भने। 

प्रधानमन्त्री ओलीले माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिनसमेत आग्रह गरे।  

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिकमात्र नभई सामाजिक र आर्थिक जागरण आवश्यक रहेको भन्दै त्यसका लागि अब सबैको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए । 

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिक प्रविधिको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

“म छिट्टै भारत भ्रमणमा जाँदैछु, भ्रमणबाट नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुनेछ”, प्रधानमन्त्री ओलीले भने । भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले दाबी गरे। कार्यक्रममा रिपोर्टर्स क्लबले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पनि गरेको थियो ।     

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भइसकेको सन्दर्भमा पार्टी एकतासँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकलाई अब आर्थिक समृद्धिको दिशामा अघि बढाउने गरी अघि बढ्नुपर्ने धारणा राखे । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारत सधैँभरि नेपालको विकास र समृद्धिको पक्षमा रहेको बताए । 

पत्रकारहरु पुरस्कृत 

रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित ‘साप्ताहिक’ का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । 

उनी लगायत अन्य पत्रकारलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे। 

यसैगरी, यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दृष्टि साप्ताहिकका प्रकाशक एवं संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । 

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं नेपाल टेलिभिजनका संवाददाता दिलीप थापा मगरलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी, ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ द हिमालयन टाइम्सका विशेष संवाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार छ । 

रिपोर्टर्स क्लब नेपालले ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ । 

यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भूकम्पलगायतका कठिन घडीमा साहसपूर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइएको यो पुरस्कारको राशि रु २० हजार छ । ‘उमा सिंह स्मृति पत्रकारिता पुरस्कार’ देशसञ्चार डटकमकी संवाददाता दीपा दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । 

सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

यस वर्षको सहिद जगतजंग शाह स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राजन कुईकेल पुरस्कृत भएका छन् । इमेज च्यानलका प्रमुख समाचार संयोजक कुईकेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले क्लबको बीसौं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रदान गरेका हुन् ।

यसैगरी, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार भउचप्रसाद यादव र राष्ट्रिय समाचार समितिका समाचारदाता सुशील दर्नाललाई प्रदान गरिएको छ । 

रु पाँच हजार राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गरेका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ