खुमबहादुर खड्काको शव यात्रा सुरु, सभापतिले पार्टीको झण्डा ओढाएर दिए सम्मान
प्रकाशित २०७४ चैत १८ आइतबार
347
Shares
काठमाडौं । नेपाली काँंग्रेसका नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शवयात्रा सुरु भएको छ । खड्काको शवयात्रा पार्टी कार्यालयबाट पशुपति आर्यघाटतर्फ अघि बढिसेको छ ।
खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि करिब एक घण्टा पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । शनिबार राती अबेर दिल्लीबाट ल्याएपछि खड्काको पार्थिव शरीर सानेपास्थित घरमा राखिएको थियो ।
पार्टी केन्द्रीय कार्यालयबाट शवयात्रा सुरु गर्दा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर खड्कालाई सम्मान दिए ।
उनको शव, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, डिल्लीबजार, रातोपुल हुँदै पशुपति आर्यघाट लगिने पार्टी केन्द्रीय कार्यालयका मूख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।
बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक–श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।
साथै बैठकले ७ (सात) दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ । पार्टीले नेता खड्काको स्वर्गारोहणको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ । खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको हो ।