ललितपुर । युनेस्कोले प्रकाशित गरेको वालकथामा श्रीलकांका कलुवा मरापरा नामको एउटा पात्रको चरित्र बर्णन भएको छ । उ धेरै आज्ञाकारी छ र काममा तत्परतापनि । गाँउ प्रमुखले एक दिन उनलाइ अराउछन, विहान सबेरै पल्लो गाँउका प्रमुखलाइ भेटनु छ । उसले आज्ञामान्छ र भोलिपल्ट विहान सबेरै नै हिडछ तर किन जानु परेको भन्ने उसलाई लागेन र जुन सन्देश लिएर जानु पर्ने थियो त्यो विना नै गयो ।
यसले काम गरेको जस्तो त देखाउछ तर परिणाम ल्याउदैन । निर्वाचन पराजयकाबारे समीक्षा गर्न बसेको केन्द्रिय समितिको बैठक कतै यस्तो नहोस, छलपल गरिएको गरियै छ तर परिणम आउदैन । यो बैठकमा बाम गठवन्धन भएको प्रमुख बाहेक अन्यकारण आफनै कमजोरीबाट सिर्जित भएका हुन भन्ने महशुस भएको पाइया । महशुस हुनु पनि निकै महत्वको कुरा हो । यही विन्दूबाट भविष्यका यात्राहरु सुरु हुन्छन । खोलो तर्दा जुनठाउँबाट आफनो साथी बगेको छ भने पछिल्लो व्यक्तिले त्यही ठाउँ रोज्दैन ।
सकेसम्म सुरक्षितरुपले पार हुने गरी नयाँ ठाउँ खोज्छ । किन भने उसलाई यो ठाउँ तर्नका लागि उपयुक्त छैन भन्ने भित्रैदेखि लाग्छ र कसैले भनेपनि न भनेपनि उसका अवयवहरु नै वैकल्पिकमार्ग पहिचान गर्ने तिर लाग्छन । यो बेला कांग्रेसमा अलिकति फरक के देखियो भने यस्तो महशुस त भयो तर यसको आत्मसात हुन बाँकी नै । आत्मसात हुनु भनेको परिणाको स्वीकारोक्ति हो । तर स्वीकारोक्तिले मात्रै पुग्दैन । त्यसमा आत्मसात हुनु पर्छ तव मात्र परिणाम दिन्छ ।
भगवान वुद्धले त्यसबेलासम्म जम्मा दुइवटा घटना देखे जीवन र मृत्यु सम्वन्धी । एउटा थियो बृद्ध पुरुष जसले मान्छे एक दिन बृद्ध हुन्छ भन्ने महशुस गरायो र दोस्रो थियो एउटा व्यक्तिको मृत शरिर जसलाइ अन्तिम संस्कारका लागि घाट तर्फ लगिदै थियो । यसले उनलाइ बृद्धमात्र होइन एक दिन मृत्यु नै हुन्छ भन्ने वोध गरायो । वोध हुनु भनेको महशुस हुनु हो । त्यसपछि यी दुवै घटनालाई उनले आत्मसात गरे । त्यो आत्मसातले नै उनको कदमलाइ घरबाट निकाल्यो र लामो तपस्या पछि दुख छ, दुखको कारण छ र तयसको समाधान पनि छ भन्ने निश्कर्षमा पुगे र त्यही सन्देश दिए संसारलाई । उनमा यो कुराको आत्मसात नभएको भए पाइलो त्यही रहने थियो जहाँ उभिएर उनले यी दृश्य देखेका थिए । कांग्रेसमा अहिलेको खाँचोहो पाइलो सार्नु पर्ने र त्यो पनि राम्रो परिणाम ल्याउने तर्फ ।
केन्द्रदेखि इकाइसम्म
कांग्रेसको यो बैठक सुरु हुनुभन्दा ठीक अघिल्लो दिन देशभरीका पार्टीका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो नुवाकोटमा । त्यसले चुनाव हार्नुका कारण भनी केही बूदामा ठहर गरेको थियो । जस्तो –१) दुई ठूला वामपन्थी दल बीचको गठबन्धन, २) आन्तरिक व्यवस्थापन प्रभावकारी नहुनु, ३) उम्मेदवारी चयनमा पक्षपात गरिनु, ४) निर्वाचनमा सिंगो पार्टी–पंक्तिलाई परिचालन गर्न नसक्नु, अन्तर्घात हुनु, ५) संविधान निर्माण र तीन तहको चुनावको जस लिन सक्ने गरी जनताका माझमा लैजान नसक्नु र ६) आफुले गरेको गठवन्धन प्रभावकारी बनाउनु नसक्नु ।
उल्लेख भएका यी कारणमध्ये एउटामात्रै पार्टीको क्षेत्रभन्दा बाहिरको विषय थियो । कुनै अरु दल गठवन्धन हुन्छन भने त्यसमा हामीले केही गर्न सक्ने अवस्था हुँदैन । बाँकी सवै आफनै कमजोरी हुन । कोषाध्यक्षहरुको यो सम्मेलन र निश्कर्ष आमतहका कार्यकर्ताको हो भन्ने बुझनुपर्छ । तिनले जति यो पराजयको पीडा अरुले नभोगेका हुनुपर्छ । त्यसकारण यसलाइ गम्भीरतापूर्वक लिनुपर्छ भनिएको हो ।
केन्द्रिय समितिको बैठकमा पनि करिव करिव यस्तै मतहरु प्रकट भएका पाइयो यो बेलासम्मको बहसमा । बाम गठवनधन यो पराजयको प्रमुख कारण रहेको भन्नेमा सबै केन्द्रिय सदस्यहरुको पूर्ण सहमति रह्यो । अर्को सहमतिभएको विषय हो निर्वाचनमा कठोर रुपको पराजय भएको कुरा । त्यसपछि आयो अव यसलाई सुधार गरेर कांग्रेसका पक्षमा गुमेको जनमत फिर्ता गर्ने कुरा । यहीँबाट हो अर्को प्रश्न खडा भएको ठाउँ पनि । यो कसरी फिर्ता हुन्छ भन्नेमा मतहरु मिल्न सकेनन । जस्तो पहिले सबैतिरबाट भनिँदै सुझाव दिइदै आइएको थियो – ‘खेल हारेको टिम, व्यापार बिग्रेको परिवार र चुनाव हारेको पार्टीको नियति प्रायः एउटै हुन्छ, त्यहाँभित्रको बहस गलत विषयमा केन्द्रित हुन्छ । आरोप–प्रत्यारोप सुरु हुन्छ ।’
आत्मसातको कुरा
भयो पनि त्यस्तै । पहिले चुनाव हारिएको छैन भन्ने मान्यता बढी थियो । चुनाव दलले होइन व्यक्तिले हारेको भन्ने कुराले यही बुझाउछ तर यो बैठकले वस्तुनिष्ठ ठाउँमा आएर चुनाव हारेकोमा एकमत जनायो । यद्यपि केही स्वर भने चुनाव नहारेको भन्नेमै प्रकट भए । यो एउटा प्रतिवादका लागि प्रतिवादमामात्र सीमित रहन गयो । पराजय भएको त स्वीकारियो तर आत्मसात गर्न भने गाहारो नै परेको पाइयो । आत्मसात हुन पाएको भए यतिखेरसम्म एउटा निश्कर्षमा पुगिसकिएको हुइन्थ्यो । ‘कांग्रेसको नेतृत्व ठिक छ, नीति ठिक छ, शैली ठिक छ, आचरण ठिक छ, मतदाताको आधार फैलिँदो छ, तर पनि प्राविधिक रूपले कांग्रेसले एउटा चुनाव मात्र हारेको हो भने त्यसले व्यापक बहस माग गर्दैन । अर्को चुनाव जित्ला, त्यसकै लागि प्रयास गरे भै गयो । कांग्रेसले यसपालि प्राविधिक रूपमा मात्र चुनाव हारेको भने होइन ।’
बैठक चलिरहँदा यता शुभचिन्तकहरुले यसरी खवरदारी गरिरहेका थिए । उनका बुझाइमा यो पराजय सामान्य होइन । कांग्रेस फेरी पहिलेको ठाउँमा आइपुग्न धेरै चुनौती छन र त्यसको पहिचान गरेर त्यही अनुसारको समर्पण खोजेको छ कांग्रेसले भन्ने यसको मूल आसय हुनुपर्छ । त्यस्तो चाहिँ यो बेलासम्म पाइएन । यसैलाई हो पराजयको आत्मसात हुन नसकेको वा हुन बाँकी रहेको भनिएको ठाउँ पनि । आत्मसात भएन भने जिम्मेवारी अनुसारको दायित्व बहन हुँदैन । दायित्व बहन नभै सुधार मात्र होइन त्यसको प्रारम्मभ नै हुँदैन ।
भोली के होला ?
यो केन्द्रिय समितिबाट अपेक्षा गरिएको विषय हो भोलीको कांग्रेस कस्तो होला भन्ने । आजको अवस्थामा कांग्रेस जेजस्तो छ, भोली नआइकन त्यसलाई एकथोपो पनि यता उता गर्न सकिदैन, मिल्दैन । कसैले चाहेर पनि केन्द्र र प्रदेशमा कांग्रेसको यतिबेला सिट जति छ कुनै ठूलै भवितव्य आइपरेको अवस्थामा बाहेक त्यसमध्ये एउटा पनि यता उता गर्न मिल्दैन । अहिले जति सिट छन यसको सम्पत्ति भनेको त्यतिमात्र हो । हो, यसलाई कसरी प्रयोग गरिन्छ भन्ने चाहिँ अलग होला तर अवको चिन्ता, चासो र छलफलको विषय भनेको भोलीको कांग्रेस नै हो ।
भोलीको कंग्रेस सबल, सक्षम र अरुभन्दा ठूलो हुनका लागि स्वाभाविक रुपले अरुभन्दा भिन्न देखिनै पर्छ । कुनै एकठाउँमा रहेको कुनै एउटा वस्तु त्यहाँबाट हटाउन पनि कारण चाहिन्छ । किन र केका लागि भन्ने प्रश्न उठछ र त्यसको जवाफ दिनुपर्छ । स्वाभाविक छ यतिखेर कांग्रेस हारेको एउटा मूल कारणमा बाम गठवन्धन देखियो । एउटा तल्लो स्तरका कार्यकर्तादेखि केन्द्रिय सदस्य, इकाइदेखि केन्द्रिय पदाधिकारीले गरेको साझा ठहर हो यो । यो गठवन्धन अहिले सरकारमा छ र यसले चुनावमा दिएको नारा जस्तै पाँचवर्ष शासन गर्ने छ । स्वाभाविक छ, यस क्रममा अवको पाँच वर्षमा उसका घोषणापत्रहरु कार्यान्वयनमा कतिपय आइसकेका र कतिपय कार्यान्वयनको चरणमा रहेका आवस्था हुने छन ।
यो सरकारले काम गर्न सक्तैन र देशले फेरी कांग्रेस नै खोज्छ भन्ने हो भने यतिखेर केवल दिन विताउने अभ्यासमा लागे भयो । यसका लागि कुनै छलफल, योजना र कार्यतत्परताको आवश्यकता पनि पर्दैन । अहिलेको बहस यो सरकारले भनेबमोजिम नै काम गर्छ भन्ने विन्दूबाट सुरु भयो भनेमात्र थप बहसको खोजी हुन्छ । त्यस्तो बेला कांग्रेससंग आफुले मत बढाउने आधार केके होलान, कस्ता नारा तय गरिएलान र तिनका पक्षमा जाने मत यता कसरी आकर्षित होला भन्ने अहिले देखिनै खोज्न थाल्नु पर्ने विषय हो । यो त्यतिबेलामात्र सम्भव हुन्छ जव यतिबेला आफना कमजोरीको महशुस भएर त्यसलाई आत्मसात गरिन्छ । एउटा उदाहरण, यतिबेला यो दलको संगठनमा जतिपद छन ती पूर्ति भएका छैनन । यता वैधानिक समय चाहिँ आधाभन्दा बढी वितिसकेको छ भने यस्तो बेला नयाँपद थप्नेकुरामा चर्काचर्की हुन्छ । यो संकेत कस्तो हो अनुमान गरौं ।
पराजय व्यहोरेको यही चुनावमा अन्तिम समयसम्म कांग्रेस सबैभन्दा ठूलो हुन्छ भनिइनै रहिएको थियो । स्थानीयतहको निर्वाचन तीन चरणमा सम्पन्न भएका थिए । पहिलो चरणमा नै कांग्रेस तल पर्यो । त्यसबेला नै कार्यकर्तामा एउटा चिन्ता उत्पन्न भैसकेको थियो र स्थितिमा सुधारका लागि व्यापक माग पनि भएको थियो । यता नेतृत्वले दोस्रो चरणमा ठूलो हुन्छ भन्ने आश्वासन दिइरह्यो । पहिलो भन्दा दोस्रो चरणमा ठाउँ फराकिला थिए, सिट पनि धेरै । त्यो एउटा अवसर थियो ठूलो हुने र आश्वासन मानियो । तर भयो त्यस्तै जो पहिले थियो । दोस्रोपछि तेस्रो आयो । यसमा चाहिँ क्षतिपूर्ति हुन्छ भनियो तर भएन । यही क्रममा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आयो । त्यसमा कांग्रेसले जित्ने आधार भनी देखाइयो – स्थानीय तहको अवस्था केन्द्रमा हुँदैन । परिणाम उल्टो आयो, स्थानीय तहभन्दा धेरै घटेर । यी कुरा यहा किन दोहोर्याइयो भने मतदातालाई आकर्षण गर्ने ठोस आधार नभै मुखले भनिएको भरमा परिणाम अनुकूलको आउँदो रहेनछ । त्यसो नहुँदो होत स्थानीयको तीन चरण र प्रदेशका दुइ चरण गरी पाचवटा निर्वाचन हुँदा जे भनिएको थियो त्यस्तै हुने थियो होला तर भएन ।
विगतमा जे भयो त्यसलाई सच्याउन सकिँदैन । जे छ उपभोग त्यसैको गर्ने हो तर भविष्य त बाँकी नै छ । विगतको पाठ यहाँ प्रयोग हुनुपर्छ यदि दललाइ सुधार गरेर यो बेला भएको क्षति पूर्ति गर्ने हो भने । अवस्था त्यो विगतभन्दा झन विषम छन । त्यसबेला चुनाव हुँदा कांग्रेस सत्तामा थियो । अवका चुनावमा विपक्षमा हुने छ । विपक्षमा हुनु भनेको यसका नीति र कार्यक्रम केवल कागजमा मात्र सीमित रहने अवस्था हो । त्यसमाथि पार्टी सभापतिले भने जस्तो बाम सरकारमा रुनपनि नपाइने संकट थपिएकोछ ।
यो सरकारले भने जस्तो काम गर्दैन भन्ने हो भने विपक्षमा रहेको कांग्रेसले चाहिँ कसरी भने जसरी नै काम गर्छ भन्ने आधार त देखाउन पर्यो नै । अहिलेको बहस त्यो आधार खडा गर्ने तर्फ हुनुपर्छ । कम्तीमा अहिलेको बैठकलाई आधार मान्ने हो भने त्यसतर्फ केन्द्रित भएको भन्ने भरपर्दो ठाउँ पाइएन । यो समीक्षाको प्रारम्भिक दिन भएर पनि निश्कर्ष आइनसकेको होला । त्यसैपनि छलफल सकएिको छैन । तर संकेत चाहि त्यतिस्पष्ट देखिएका छैनन । यसले नै पराजयको महशुस भएको तर त्यसलाई आत्मसात गर्न नसकिउको स्थिति भनिएको हो ।