बागलुङ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ साल देखि विस्थापित बागलुङ नगरपालिका १ खनियाघाटका माझी परिवारले अझै घर पाउन सकेका छैनन, । माझी समुदायलाई आफ्नै घर उपलब्ध गराउने गएका निर्वाचनमा धेरै नेताले आश्वासन बाँडे । विस्थापित १४ माझी परिवारलाई पुनस्थापना गर्ने कार्यले अझै पनि पुर्णता पाउन सकेन ।
२८ वर्ष अघि विस्थापित भएको अल्पसंख्य माझी समुदायलाई नयाँ वर्ष र दशैंमा घर उपलब्ध गराउने भन्दै आश्वासन बाँड्न थालिएको १० वर्ष भन्दा बढि भैसकेको छ । पटक—पटकको आश्वासनबाट माझी परिवारहरु वाक्क बनिसकेका छन । गतवर्ष घर निर्माणका लागि ठेक्का सम्झौता भएपछि माझीहरु घर पाउनेमा ढुक्क थिए । अघिल्लो वर्षको माघमा एक वर्ष भित्र माझी समुदायलाई घर उपलब्ध गराउने गरी ठेकेदार कम्पनी र बागलुङ नगरपालिकाबीच लिखीत सम्झौता भएको थियो । सम्झौता हुने बेला दशैंमै घर उपलब्ध गराउने बचन पनि दिईयो । केही प्राविधिक कमजोरीका कारण दशैंमा घर निर्माण पूरा नहुने भन्दै भाका नयाँ वर्षसम्म सर्यो । तर अहिले नयाँ वर्षमा पनि माझी समुदायले घर नपाउने अवस्था देखिएको छ ।
घर निर्माणका काम सुरु भएपछि खुशी देखिएका माझीहरु त्यसमा भएको ढिलासुस्तीका कारण अहिले फेरि निराश देखिएका छन् । विस्थापित माझी परिवार दुई दशक भन्दा अधिदेखी बागलुङको बाँगेचौरमा रहेको सामुदायिक वन र कालिगण्डकी किनारको मालढुंगा आसपासमा कष्टकर जीवन बिताउदै आएका छन् । ‘धेरै पटक पुर्नस्थापनाको आशा देखाए पनि समयमा काम नगर्दा माझी समुदाय नै निराश भएको स्थानीय देउकली माझीले बताईन । ‘निर्माण कार्य अघि बढे पछि धेरै आशावादी थियौ, माझीले भनिन, ‘ठेकेदारको लापरबाहीका कारण गुणस्तरहिन सामान प्रयोग भएका छन । ‘पछिल्लो समय निर्माण कार्यमा धेरै लाहपरबाही देखिएको छ ।
बस्ती निर्माणको सम्झौता अवधि गत मंसिर २६ गते सकिए पछि अहिले ६ महिना म्याद थप गरिएको छ । निर्माणाधिन माझी बस्तीमा अझै घरका साथै बिद्युत, पानी लगायतका पूर्वाधार निर्माण गर्न बाँकी रहेको छ । न्यूनतमम खर्चको घर निर्माण योजनामा बिजुली, पानी लगायतको व्यवस्थापन समावेश गरिएको थिएन । यसलाई जिल्लाका बिषयगत कार्यालय सँग समन्वय गरेर व्यवस्थित गरिने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । बिस्थापित माझी परिवारको घर निर्माणका लागि बागलुङ नगरपालिका, निर्माण कम्पनी मृक्तिनाथ-बिएन-त्रिशक्ति जेभि निर्माण सेवा र माझी वस्ती व्यवस्थापन समितिबीच गत वर्षको मंसिरमा सम्झौता भएर काम अघि बढाईएको थियो ।
निर्माण जिम्मा लिएको मुक्तिनाथ जेभि कम्पनीका नारायण जिसीले डिजाइनमै केही समस्या भएको र बजेट निकासामा समस्या भएका कारण निर्माण ढिलाई भएको बताए । जिसीले आगामी जेठ मसान्त भित्र सबैघर निर्माणको काम सकिने र माझीहरुलाई हस्तान्तरण गर्ने बताए । उनले भने, पहिले डिजाईन गर्दा अधुरो गरिएको रहेछ, हामीलाई बीचमा थप काम गर्नुपर्ने भनियो, निकासा पनि समयमा नहुँदा कामदारलाई कजाउन गाह्रो भएको छ ।’
सोमबार माझी बस्ती व्यवस्थापन समन्वय समिति बागलुङ नगरपालिका–१ रामरेखाले अहिले निर्माण कार्यमा भएको ढिलासुस्ती, लापरबाही, समिति सँगको समन्वयमा बेवास्ता लगायतका कारण देखाउदै समितिमा आवद्ध सबैले सामुहिक राजीनामा दिएका थिए । नगरपालिकाको निर्माणमा ढिलाई, फितलो अनुगमन, ठेकेदार कम्पनीको चरम लापरवाही हुँदा पनि कार्यालय र जनप्रतिनिधिको बेवास्ता, गुणस्तरहिन सामग्रीको प्रयोग लगायतका कारण सामुहिक राजीनामा दिने निर्णयमा पुगेको समन्वय समितका अध्यक्ष केवी राना मगरले बताए ।
बस्ती व्यवस्थापन समन्वय समितिले राजिनामा गरेको थाहा भए पछि मंगलबार निर्माण कम्पनीका ठेकेदार, समन्वय समितिका पदाधिकारी, माझी बस्तीका प्रतिनिधि र बागलुङ नगरपालिका विच छलफल भएको छ । छलफल पश्चात माझी वस्ती निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समय भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै नगरपालिकाले समन्वय समितिलाई पनि अनुगमन गरी कामलाई तिव्रता पार्नका लागि सामुहिक राजिनामा फिर्ता लिन आग्रह गरेको नगरप्रमुख पौडेलले बताए ।
उनले भने, ठेकेदार कम्पनीले विभिन्न कारण देखाएर म्याद थपको लागि अनुरोध गरेकाले छ तोकिएको अवधिमा पनि काम नगरे कारवाही गरिने छ । पौडेलले विगतमा भएको केही प्राविधिक समस्याका कारण म्याद थपिएको र आगामी जेठ महिना भित्र माझी परिवारलाई नयाँ घर उपहारको रुपमा हस्तान्तरण गर्ने बताए । उनले भने, ‘घाम पानी सहेका माझी परिवारको पिडाको गहिरो अनुभुति हामीसँग छ, नगरपालिकाले यसलाई चासोको रुपमा हेरेको छ । समय समयमा हामी गुणस्तरको पनि अनुगमन गर्ने छौं ।
कुल १ करोड २२ लाख ९० हजार रुपैयाँ लागतमा ९८ लाख ३२ हजार (८० प्रतिशत) नगर विकास कोषको अनुदान, १२ लाख २९ हजार (१० प्रतिशत) नगर विकास कोषको ऋण र १२ लाख २९ हजार (१० प्रतिशत) बागलुङ नगरपालिकाको स्थानीय सहभागितामा न्युनतम खर्चको घर निर्माण योजना अन्र्तगत १४ वटा घर निर्माण गर्ने लागत स्टीमेट तयार गरिए पनि ठेकेदार कम्पनीले टेन्डर मार्फत ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको हो ।
माझी बस्तीका लागि नगरपालिकाले करिब १ रोपनी जग्गा खरिद गरेको थियो भने स्थानिय कर्णबहादुर बोहरा, दिव्यधर आचार्य, कृष्णबहादुर केसी, शम्भु आचार्य र कौशिला आचार्यले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
माझी समुदायको पुनस्थापनाका लागि निर्माणाधीन बस्ती ।