प्रधानमन्त्री ओलीको भारत फ्लाइट, यस्तो छ तीनदिने तालिका
प्रकाशित २०७४ चैत २३ शुक्रबार
591
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार तीन दिने राजकीय भ्रमणका लागि भारत जाँदैछन् । ओली शुक्रबार बिहान ९ बजे नेपाल एअरलायन्सको नियमित उडानबाट भारत जान लागेका हुन् ।
५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जाँदै गरेका ओलीका कार्यक्रम के के छन् त ?
शुक्रबार–
ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवनमा पुग्नेछन्।
त्यसपछि त्यहाँ केही बेर आराम गरेपछि उनले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
साँझ उनी नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।
रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ।
शनिबार–
भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ। बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् ।
त्यसपछि भारतीय सेनाले ओलीलाई उच्च सैनिक ‘गार्ड अफ अनर’ लिएपछि प्रधानमन्त्री ओलीसंग भारतका राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम तय भएको छ।
त्यसपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुग्नेछन्। उनले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रम छ।
हैदरवाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहितको औपचारिक छलफल हुनेछ।
दिल्लीबाटै प्रधानमन्त्रीद्वयले अरुण तेस्रो जलविद्युत आयोजना र वीरगञ्जमा रहेको संयुक्त चेकपोष्टको उद्घाटन गर्ने छन् ।
हैदरावाद हाउसमै संयुक्त पत्रकार सम्मेलनको आयोजना हुनेछ जसलाई दुबै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।
ओलीसंग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने छन् ।
भारतीय नेताले पनि शनिबार नै प्रधानमन्त्री ओलीसंग भेट गर्नेछन्।
इण्डिया फाउण्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन्।
ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गरेका छन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन्।
आइतबार–
आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ। उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा उनी सहभागी हुने छन्।
प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधी उपाधि दिनेछ।