लोकतान्त्रिक ईन्जिनियर्समा शंकर पण्डित र मुकेश काफ्ले भिड्दै
प्रकाशित २०७४ चैत २३ शुक्रबार
495
Shares
काठमाडौं। नेपाली प्रजातान्त्रिक ईन्जिनियर्सहरुको छाता संगठन 'सेन्टर फर डेमोक्र्याटिक ईन्जिनियर्स नेपाल'(सिडेन)को पाँचौ कार्यकारिणी समितीको निर्वाचन चैत्र २३, २०७४ शनिवार ललितपुरमा हुने भएको छ। उक्त निर्वाचनले नयाँ नेतृत्वको चयन गर्नेछ।
निर्वाचनमा शंकर प्रसाद पण्डित र मुकेश काफ्लेले अध्यक्ष पदकालागि उम्मेद्वारी दिएका छन्। त्यसैगरि महासचिव पदकालागि बिनोद प्रकाश पण्डित र गोरखराज जोशीले आफ्नो उम्मेद्वारी दिएका छन्। नयाँ कार्य समितीकालागि हुने निर्वाचनले पाँच पदाधिकारी र दश कार्य समिती सदस्य चयन गर्नेछ। महासचिवका प्रत्यासी बिनोद प्रकाश पण्डित अध्यक्ष उम्मेद्वार शंकर पण्डित प्यानलका हुन्।
अध्यक्षमा शंकर प्रसाद पण्डितले उम्मेद्वारी दिएका छन्। अध्यक्ष पदका प्रत्यासी पण्डितले आफुले जितेको खण्डमा ईन्जिनियर पेशालाई ब्यवसायीक, ब्यवहारीक र मर्यादित बनाउनकालागि काम गर्ने बताएका छन।
पण्डित स्थानीय पुर्वाधार बिकास तथा कृषी सडक बिभाग (डोलीडार)मा बिगत २२ बर्ष देखि कार्यरत छन्। हाल उनी डोलिडार अन्तर्गतको राष्ट्रिय ग्रामिण यातायात सुधृढिकरण कार्यक्रमको परियोजना संयोजकका रुपमा कार्यरत रहेका छन्।
बिगत ५ बर्षमा पण्डितको संयोजक्त्वमा १ हजार किमी भन्दा बढी सडक र ३० भन्दा बढी नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको छ। उक्त परियोजना नेपालको सफल परियोजनाका रुपमा चिनिन्छ ।
अर्का अध्यक्षका प्रत्यासी मुकेश राज काफ्लेले नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएर काम गरिसकेका छन्। काफ्ले कुलमान घिसिङ भन्दा अगाडीका कार्यकारी निर्देशक हुन्। पछिल्लो समयमा लोडसेडीङका बारेका समाचारहरुले उनलाई बिवादमा तानेको छ।
छरिएर रहेका लोकतान्त्रिक ईन्जिनियरहरुलाई गोलबद्द गरि लोकतन्त्रलाई प्रविधी र बिकास मार्फत दिगो र बलियो बनाउने कार्यमा सिडेन लागिरहेको र लागिरहने पुर्व महासचिव कमल कार्कीले जानकारी दिए।
नयाँ परिस्थितीमा सरकारलाई सहभागितामुलक तथा दिगो बिकासका अभियान संचालन गर्न सहयोग गर्ने एवं गुणस्तरीय ईन्जिनियरिङ शिक्षा प्रदान गर्ने ब्यवस्था मिलाउन आग्रह गर्ने अध्यक्षका प्रत्यासी पण्डितले बताए।
देश संघियतामा प्रवेश गरेको नयाँ परिस्थितीमा ब्यवस्थित र ब्यवसायीक रुपमा ईन्जिनियर्सहरुको सहभागीता गराउँदै देशको समग्र बिकासमा सहयोग गर्न सिडेन प्रतिबद्ध रहेको कार्कीले बताए।