कांग्रेस शुभेच्छुक संस्थामा देउवा पक्ष शुन्य रहदा पौडेल, सिटौला र कोइराला पक्ष हावी
प्रकाशित २०७४ चैत २५ आइतबार
360
Shares
काठमाडौं । कांग्रेसको शुभेच्छुक संस्थामा सभापति शेर वहादुर देउवा पक्ष शुन्य रहदा वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्री कृष्ण सिटौला र महामन्त्री डा शशांक कोइराला पक्ष हावी भएको छ । शुक्रवार र शनिवार सकिएका कांग्रेस निकटका संगठनको अधिवेसनमा पौडेल , सिटौला र कोइराला पक्ष हावी भएको हो । नेपाल सार्वजनिक कर्मचारी संघ, नेपाल वित्तीय कर्मचारी संघ , नेपाल प्रजातान्त्रिक इन्जिनियर्स (सेडन) र छापाखाना श्रमीक संघमा कांग्रेस सभापति शेर वहादुर देउवा समुहको उपस्थिती अत्यन्तै न्युन रहेको छ ।
नेपाल सार्वजनिक कर्मचारी संघमा सवै पदाधिकारी पौडेल र सिटौला समुहवाट निर्वाचित भएका छन् । देउवा समुहको केन्द्रिय समितीमा उपस्थिती शुन्य रहेको वताइएको छ । ४१ सदस्यीय केन्द्रिय समितीमा सभापति दुई सदस्य मात्रै निर्वाचित भएको वताइएको छ । पदाधिकारीमा देउवा पक्ष निल भएको उप महासचिवमा विजयी सरस्वती केसी भण्डारीले वताइन् ।
पुतलीसडक स्थित एक पार्टी प्यालेसमा भएको अधिवेसनको प्रमुख अतिथी सभापति देउवा बनेका थिए । शुक्रवार शुरु भएर शनिवार सकिएको अधिवेसनमा डा. शेखर कोइराला विशेष अतिथी भएका थिए । पौडेल पक्षका जनार्दन भट्टराइले मणिल ओझालाई हराएका थिए । विद्युत् प्राधिकारणमा कार्यरत भट्टराइले ३६० मत ल्याएका थिए भने नेपाल टेलिकममा कार्यरत ओझाले १५४ मत ल्याएका थिए । निर्वाचित कार्यसमितीमा अन्य पदहरुमा पनि पौडेल पक्ष सहित अन्य समुहका चुनिएका छन् ।
सार्वजनीक कर्मचारी संघमा विद्युत प्राधिकरण, टेलिकम, खेलकुद परिषद, खाद्य संस्थान, सिटीइभिटी, खानेपानी संस्थान, केयुकेल लगायतका २५ सरकारी कार्यालयमा कार्यरत नेपाली कांग्रेस निकटका कर्मचारीहरु आवद्ध छन् ।
शुक्रवार भएको वित्तीय कर्मचारी संघको अधिवेसनमा पनि देउवा समुह पराजित भएको छ । पुर्व महामन्त्री प्रकाशमान सिंहले वल्र्ड ट्रेड सेन्टरमा उद्घाटन गरेको अधिवेसनमा सभापति पक्षले शुन्य नतिजा निकालेको वताइएको छ ।
अधिवेसनले पौडेल निकट पदमराज रेग्मीलाई निर्वाचित गरेको छ। राष्ट्रवैंकमा कार्यरत रेग्मीले देउवा निकटका रमेश रावललाई हराएका थिए । रेग्मीले १२८ मत ल्याउँदा पराजित रावलले ९१ मत ल्याई हारमा चित्त वुझाए । अध्यक्ष, उपमहासचिव, कोषाध्यक्ष र खुला सदस्यका लागि निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध चयन भएका थिए ।
वित्तीय कर्मचारी संघमा वैंक र इन्सुरेन्स गरि ४५ वित्तीय संस्थाका कांग्रेस निकट कर्मचारीहरुको आवद्धता छ । ३२ सदस्यीय कार्यसमितीमा सभापति देउवा समुहले कुनै पनि सदस्यमा जित निकाल्न सकेन ।
शनिवार भएको कांग्रेस शुभेच्छुक संगठन नेपाल प्रजातान्त्रिक इन्जिनियर्स (सेडन) को पाँचौ कार्यकारिणी समितीको निर्वाचनमा शंकर प्रसाद पण्डित निर्वाचित भए । पण्डितले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका मुकेश काफ्लेलाई हराए ।
पण्डितले ५४४ मत प्राप्त गर्दा काफ्लेले ३८९ मत ल्याए। पण्डितलाई जिताउन व्यवसायिक इन्जिनियरहरु खुलेर लागेका थिए। काफ्लेलाई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा उनी निकटहरुको समर्थन रहेको बताइएको थियो। पण्डित तथा उनको समुहलाई सिटौला समुहका नेताहरु गगन थापा, प्रदिप पौडेल सहितको समर्थन रहेको थियो। साथमा रामचन्द्र पौडेल निकट नेताहरु पनि पण्डितका पक्षमा लागेका थिए। कतिपय देउवा निकट इन्जिनियरहरु पनि पण्डितलाई जिताउन लागिपरेका थिए।
कुल १५ सदस्यीय कार्य समितीमा पाँच पदाधिकारी र नौ सदस्य पण्डित समुहले जितेको छ। एक केन्द्रीय सदस्य मात्र काफ्ले समुहले जीतेको छ। कार्यसमितिका सदस्यहरुमा सरोज राई, सन्तोष कुँवर, अशोक अर्याल, सन्तोष बहादुर क्षेत्री, भिषण भुजेल, सञ्जयराज अधिकारी, मदन पुरी, कुञ्जन अमात्य, मनिष कर्ण पण्डित समुहबाट निर्वाचित भए । काफ्ले समुहबाट एक मात्र केन्द्रीय सदस्य विकास पोख्रेल निर्वाचित भए ।
त्यस्तै शनिवार भएको कांग्रेस शुभेच्छुक संस्था युनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल युनिप्रेसको चौथो संघिय महाधिवेशनले महामन्त्री डा शशांक कोइराला निकट मानिने सुबर्णजंग सिजापतीको अध्यक्षतामा ३१ सदस्यिय नया संघिय समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
समितिको सह अध्यक्ष अर्जुन पाठक, बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष लीला दाहाल, उपाध्यक्ष अशोक दाहाल, उद्धव अधिकारी, प्रकाश दाहाल, तथा महासचिवमा सूर्य नेपाल, उपमहासचिव सुदिप बुडाथोकी, कविता कार्की, गुण सिलवाल, कोषाध्यक्ष हरी बस्नेत, सहकोषाध्यक्ष राम भजन लहेरा चयन भएका छन्। त्यसैगरी केन्द्रिय सदस्यहरुमा रमेस चालिसे, नीमा लामा, नरेन्द्र मानन्धर, देव बहादुर के।सी, सुवास न्यौपाने खडानन्द, कल्पना माझी बोटे, सहनशिला बस्नेत, सुचित्रा गौतम, प्रिया आचार्य, पवनजी ज्यू जंङ ठकुरी, यम गुरुङ, मो। जुनेद हवारी तथा अश्विनी केसी रहेका छन्।
२०५९ मा स्थापित यो संघ अन्तरष्ट्रिय रुपमा युनियन नेटबर्क इन्टरनेशनलसँग र राष्ट्रिय रुपमा नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध छ। संघको ५२ जिल्ला शाखाहरु तथा कान्तिपुर, इमेज लगायत बिभिन्न रेडियो, टीभी, छापाखाना र संचार माध्यमहरुमा गठन भएका प्रतिष्ठानहरुमा कार्यरत करिव ८ हजार सदस्यहरु रहेका छन । सो संघसंग यसै महाधिवेशनमा नेपालको श्रम विभागमा दर्ता रहेको र अन्तराष्ट्रिय रुपमा यूएनआइ आबद्ध भएको तथा नेपाल टेलीभिजन कर्मचारी संघ लगायतका अन्य संचारका ट्रेड युनियनहरु आबद्ध संचारकर्मीहरुको अर्को राष्ट्रिय ट्रेड युनियन समेत एकिकरण भएको छ ।