खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
प्रवेश शुल्क नै ५ हजारदेखि ७० हजार रुपैयाँसम्म
प्रकाशित २०७४ चैत २७ मंगलबार
310
Shares
काठमाडौं । राजधानी काठमाडौंमा मंगलबारदेखि तामझामका साथ खानेपानी, वातावरण र जलवायु परिवर्तन विषयमा, ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल सोफेनको आयोजनामा हुने सम्मेलनमा भागलिनेका लागि भने सोफेनले चर्को शुल्क तोकेको छ । आयोजकका अनुसार यो सम्मेलनमा भाग लिन चाहने नेपालीका लागि व्यक्तिगत ५ हजार र संस्थागत शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, सार्क मुलुकका प्रतिनिधिका लागि २ सय र सार्क बाहिरका मुलुकका प्रतिनिधिका लागि ७ सय अमेरिकी डलर तोकिएको छ । यो रकम खर्च बापत उनीहरुले ३ दिनका लागि ब्रेकफाष्ट र लन्च पाउनेछन् । आयोजकको अर्को भनाइ पनि छ, उनीहरुले आफ्नो कार्यपत्र प्रस्तुत पनि गर्न पाउनेछन्, तर आयोजले प्रस्तुतीका लागि छनोट गरेमा मात्रै ।
सम्मेलन आयोजना गर्न न्यू भेन्चर फण्ड, विश्व स्वास्थ्य संगठन, युनिसेफ, इवाग स्वीजरल्याण्ड, अक्सफाम लगायत देश बाहिर र भित्रका सम्पन्न सरकारी र गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन् । तर, प्राप्त बजेट र अनुमानित खर्चको विषयमा भने आयोजकले यकिन जानकारी दिएको छैन ।
राजधानीको पाँचतारे होटलमा हुने सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनबाट गराइँदैछ भने सम्मेलनबारे बोलिदिन दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीलाई समेत निम्ता गरिएको छ । सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल सोफेनको आयोजनामा हुनेसम्मेलनमा खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, विज्ञ, व्यवसायी र सरकारी तथा गैरसरारी संघसंस्थाका प्रतनिधि सामेल हुँदैछन् ।
आईतबारको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ती अनुसार सम्मेलनमा २० राष्ट्रका करिब ५ सय जना सामेल हुनेछन् । नेपालका २८ महानगर, उपमहानगर र नगरपालिका प्रमुख सहभागी हुनेछन् भने खानेपानी तथा सरसफाइका १० उपभोक्ता समूहका अध्यक्ष र खुला दिसामुक्त घोषणा हुन बाँकी ११ जिल्लाका जिल्ला समन्वय समिति अध्यक्ष लगायत पनि सहभागी हुँदैछन् । सम्मेलनका क्रममा १५ वटा विषयमा १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।