भक्तपुरमा बिस्केट जात्रा : झडप रोक्न दिउँसै रथ तानिने
१३ सय सुरक्षाकर्मी परिचालन
प्रकाशित २०७४ चैत २७ मंगलबार
275
Shares
काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा मंगलबारदेखि शुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रामा यसपाली पहिलो पटक भैरब र भद्रकालीको रथ दिउँसो तान्न लागिएको छ । प्रत्येक वर्ष बेलुका रथ तान्ने क्रममा झडप हुने, ढुंगाा हानाहान हुने भएपछि यसवर्षदेखि रथ दिउँसो तान्न लागिएको गुठी संस्थान कार्यालय प्रमुख हरि प्रसाद सुवेदीले जानकारी दिए । बिस्केट जात्राको पहिलो दिन बिहान भैरव को नित्यपुजा भएसँगै जात्रा शुरु भएको मानिन्छ ।
पहिलो दिन काठै काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवको मुल देवता र बेताल देवता राखेर पुजा गरे पछि रथ तान्न सुरु गरिन्छ । मंगलबार पाँचतले मन्दिर अगाडि तौमढी टोलबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा शुरु हुनेछ । रथ जात्रा नयाँबर्षको वैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुनेछ ।
बिस्केट जात्रामा मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच रथ तानातान गरी तल र माथी लाने प्रतिष्पर्धा हुन्छ । यही प्रतिस्पर्धाका क्रममा ढुङ्गा हान्ने र झगडा समेत हुने क्रम दोहरिन थालेपछि, यो वर्ष पहिलो पटक रथलाई माथिल्लो र तल्लो दुवै टोलमा पुरयाइने भएको छ । रथ तान्ने क्रममा पहिले एउटा टोल र पछि अर्को टोल पुर्याउने गरी आज दुवै टोलमा रथ पुरयाउने व्यवस्था मिलाइएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ ।
जात्राको पहिलो दिन तौमढीबाट रथ तान्न शुरु गरिन्छ । त्यसपछि सुकुलढोका हुँदै गोल्मढी पुर्याएर फेरी तौमढी नै ल्याएर नासमना हुँदै गहिटी पुरयाउने चलन छ । भुकम्पले भत्किएका अधिकाश संरचना अझै पुनःनिर्माण हुन नसकेपछि यसपाली रथको रुट छोटयाएर माथिल्लो भेगमा साकोठा र तल्लो भेगमा बुलुचासम्म रथ तानिने गुठी कार्यालय भक्तपुरले जनाएको छ ।
यसैबीच, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने बताए ।
उनका अनुसार जात्रालाई शान्ति पूर्ण बनाउन ३४ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गरिनेछ भने जात्रामा १ हजार ३ सय भन्दा बढी सुरक्षाकर्मी खटाइनेछ ।
यस्तै मदिरा बिक्री वितरणमा रोक लगाइने तथा झगडा गर्ने र ढुङ्गा हान्नेलाई सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाएर कारवाही गरिने उनले बताए । जात्रामा ठूलो संख्यामा दर्शनार्थी ओइरिने हुँदा सुरक्षा व्यवस्था कडा बनाइन्छ । यस वर्षको सुरक्षा व्यवस्था भने विगतभन्दा फरक बनाइदैंछ । प्रहरी प्रशासनले मात्र नभइ यस वर्षको जात्रामा सुरक्षाका लागि भक्तपुरका स्थानीय पनि जुट्दैछन् । यस वर्ष रथमा पनि अत्यावश्यक र गुठियारका गरी २० जनालाई मात्र रथ चढ्न दिइने तयारी छ ।
भैरवनाथको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच झगडा हुँदा इट्टा प्रहार हुने, मान्छे घाइते र मृत्यु समेत हुने गरेकोले प्रहरी सचेतता निकै बढाइएको छ । अपराधिक गतिविधि गर्न खोज्ने जोकोहीलाई तत्काल पक्रन निर्देशन दिइएको छ ।