रातो मच्छिन्द्रनाथको जात्रामा कसको भूमिका के हुन्छ ?
प्रकाशित २०७४ चैत ३० शुक्रबार
429
Shares
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथजात्राका लागि अहिले रथ बनाउने काम धमाधम भइरहेको छ । देशकै सबैभन्दा लामो रथजात्रा मच्छिन्द्रनाथको रथयात्राका लागि अहिले ललितपुरको पुल्चोकमा धमाधन रथ निर्माणको काम हुँदैछ ।
काठ र बेतले निर्माण गरिने शिखर शैलीको रथ विभिन्न जातजाति मिलेर बनाउँछन् । जात अनुसार कामको बाँडफाट गरिन्छ । ३२ लक्षणयुक्त मच्छिन्द्रनाथको ३२ हात अग्लो रथ र रथको अगाडी ३२ हात लामो नाग आकारको काठको घःमा मा भैरबको मुकुट राखिन्छ ।
मच्छिन्द्रनाथको महास्नानसंगै रथ बनाउने काम शुरु हुन्छ । बैशाख कृष्ण प्रतिपदाका दिनमा र मच्छिन्द्रनाथको महास्नानसंगै हाम्व कि स्वायेगु भन्दै रथका लागि जग हाल्ने काठको पुजा गरिन्छ । हाम्व कि स्वायेगु भनेको पुल्चोकको दमकलस्थित सडकछेउमा बनाउने रथको जगमा प्रयोगहुने ४ वटा काठको पुजाआजा गरेर स्थापना गर्नु हो ।
रातो मच्छिन्द्रनाथको रथ जात्रामा बिभिन्न जातजाति जस्तै पानेजु, नेकु, ब्वसी, घकु, बाराही, ञवालले रथजात्राका लागि फरक फरक जिम्मेवारी बहनगर्दै आएका छन् । उनीहरुलाई कामका आधारमा परापूर्वकालदेखि नै थर समेत दिइएको बाराहीका नाइके दिल कुमार बाराही बताउँछन् । कम्तिमा २ महिना चल्ने यो रथजात्रामा नेवार समुदायको ब्राम्हण, जोशी, चित्रकार, कुमाले, तुलाधर, शाही, खड्गी लगायतको पनि महत्वपुर्ण भुमिका रहँदै आएको छ ।
कस्को के भूमिका ?
ललितपुरका महर्जन थरमध्येका बाराही जातिले काठको काम गर्छन् भने ञवालहरुले बेतको काम गर्छन् । रथ बाँध्न र तान्न प्रयोग हुने बेत विगतमा नेपालकै जगंलमा पाइन्थ्यो । तर अहिले बेत भारतबाट ल्याउने गरिन्छ । बेत ओसारपसारमा प्रतिबन्धित भएपनि संस्कृति जगेर्ना गर्न जात्राका लागि सरकारी पत्रका आधारमा भारतबाट सजिलै ल्याउन सकिने ललितपुर गुठी तहसिल कार्यालयका प्रमुख शैलेन्द्र पौडेल बताउँछन् । यो जात्राका लागि नेपालमै पनि अहिले बेत रोप्न थालिएको छ । ललितपुरको लेले सामुदायिक वनमा र देवीचौर गाबिसको कटुवाल दहमा बेत रोपिएपनि राम्ररी नसप्रिएकाले यसपाली पनि भारतबाटै बेत ल्याइएको छ । बेतले रथ बाँध्दै गरेका ञवालहरु
रथ बनाउनका लागि चाहिने विभिन्न जातका काठ उपत्यका सहित ठाउँ–ठाउँका वनजंगलबाट संकलन गर्ने जिम्मेवारी ब्वंसी जातिको हुन्छ । कस्तो जातको काठ आवश्यक छ, कहाँ पाइन्छ, कसरी ल्याउने भन्नेदेखि बाराही जातिलाई सँगै लिएर जाने र रथ निर्माणस्थलसम्म काठ ल्याउने जिम्मा ब्वंसी जातिको हुन्छ । उनीहरुले जंगलमा गएर काठ छनौट गर्ने र देखाउने भएकाले यो जातिलाई नेपाल भाषामा ब्वंसी (काठ प्रर्दशन गर्ने) भनिएको हो ।
यसैगरी, बाराही जातिको पनि रथ बनाउन महत्वपूर्ण भुमिका हुन्छ । उनीहरुले रथको पांग्रा, देउता राख्ने बिमान खट, घमाः, लगायतका विभिन्न सामग्री बनाउँछन् । यसपाली घमाः, बिमान खट र थाम बनाउन नयाँ काठ ल्याइएको गुठीले जनाएको छ । यसपाली नयाँ काठले बनाइएको घःमा
काठ लिन जंगलमा जाँदा रुख आफै हराउने गरेपछि बाराहीको रुपधारण गरी शक्ति प्रर्दशन गरेकाले, बाराही नाम दिइएको लोकोक्ति छ । बाराहीले थकालीको घरमा हुने ह्यग्रिब भैरबलाई आगम देवताका रुपमा पूज्ने गर्छन् र जात्राको बेला ह्यग्रिब भैरबको स्वर्ण जलपयुक्त मुकुटलाई घमाःमा राखिने गर्छ । ञवालको भूमिकाः रथ निर्माण अबधीभर सात्विक भोजन
रथका लागि चाहिने सबै सामग्री जोड्ने र सात तलाको रथ बनाउने काम सकेपछि महर्जनभित्रकै ञवाल जातिको जिम्मेवारी शुरु हुन्छ । रथलाई कुनै पनि पेच, किला प्रयोग नगरी बलियोसँग बेतले मात्रै बाँधेर रथ कस्ने जिम्मा ञवालको हुन्छ । रथ बनाउने काममा महत्वपुर्ण भूमिका रहेका ब्वंसीं, बाराही र ञवालहरुले रथ बनाउने अवधिभर कुखुराको मासु, अण्डा र लसुन खान पाउँदैनन् । घकुको भूमिकाः
रथ परिक्रमाका क्रममा घकुहरुले रथको ब्रेक लगाउने जोखिमयुक्त काम गर्छन् । रथ अनियन्त्रित ढंगले तानिरहेको अवस्थामा त्यसलाई ब्रेक लगाउन पांग्रामा काठको ठेउको राख्ने जोखिमयुक्त काम महर्जन थरकै घकुहरुले गर्छन् । नेकु(नेम्कुल)को भूमिकाः
रातो मच्छिन्द्रनाथको मूर्तीको मर्मत सम्भार गर्ने र रगंरोगन लगाउने काम नेकु अर्थात नेम्कुल जातिलकाहरुले गर्छन्। नेम्कुल जातिले मच्छिन्द्रनाथको महास्नान गराउने महत्वपूर्ण जिम्मा पनि पाएका हुन्छन् । नेम्कुल जातिले महास्नान पर्व सकेपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर लगनखेल देखि मच्छिन्द्रबहालसम्म बोकेर लाने परम्परा छ । हाल यो जातिका २ दाजुभाई मात्रै बाँकी रहेको र उनीहरु पनि उमेरका कारण काम गर्न नसक्ने हुँदै गएका छन् । जसले गर्दा नेम्कुल जातिले गर्दै आएको काम भबिष्यमा कसले गर्ने भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
मालिनीहरुको भूमिका
मच्छिन्द्रनाथ रथमा रहुन्जेल प्रत्येक दिन बिहानको नित्य पूजा सामग्री तयार गरिदिने काम माली जातिका श्रीमतिहरुले गर्ने परम्परा छ । यो काम गर्ने मालिनीहरुले बौद्ध महायानी सम्बन्धी शिक्षा लिएको हुनुपर्छ ।
(मच्छिन्द्रनाथ मन्दिरमा राखिँदा भने बुंगमतिका शाक्य महिलाले पूजा सामग्री तयार पार्ने गर्छन्)
पानेजुको भूमिका
पानेजु अर्थात मच्छिन्द्रनाथसँगै बस्ने पुजारीहरुले, मच्छिन्द्रनाथलाई बुंगमति वा मच्छिन्द्रबहाल राखिँदा र रथमा राखिँदा समेत रातदिन नभनी मच्छिन्द्रनाथसंगै बसेर सेवा गरिरहेका हुन्छन् । दिनहुँ नुहाउने, नित्यपुजा गर्ने अनि दिनको एक छाक मात्रै खाएर रथजात्रा अबधिभर रथमै पालो पालो दैनिक ३ जना पानेजु रथमा बस्ने गर्छन् । साथै रथ जात्राको अन्तिम दिन जावलाखेलमा भोेटो देखाइसकेपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर ४ जना पानेजुले नै जावलाखेलदेखि बुंगमतिसम्म बोकेर लैजाने चलन छ । उनीहरु बर्षै भरी मच्छिन्द्रनाथसँगै रहने गर्छन् ।
यो रथयात्रा शदियौंदेखि समुदायको सक्रिय सहभागितामा चल्दैआएको छ । यसलाई निरन्तरता दिन समुदायका विभिन्न जातजातिले आआफ्नो भुमिका निर्वाह गर्दै आएका छन् । यो जात्रा कुनै विशेष जाति, समुदायको मात्र नभई नेपालको चिनारी बोकेको जात्रा हो ।
यो जात्राले कुनै एक जाति र समुदायको मात्र प्रतिनिधित्व नगरी समग्र मुलुककै प्रतिनिधित्व गरिरहेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रिया अघि बढेको यो रथजात्राले आपसी सदभाव र सहअस्तित्वको सन्देश दिने गरेको छ । यो वर्ष रातो मच्छिन्द्रनाथको रथारोहण आउने बैशाख ४ गते र रथयात्रा ६ गतेदेखि शुरु हुँदैछ ।