विश्वध्वजासहितको लिङ्गो उठाएर जात्रा शुरु, सात घाइते
प्रकाशित २०७४ चैत ३० शुक्रबार
310
Shares
भक्तपुर। भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर ३३ मिनेटमा उठाइएको छ।
गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएपछि स्थानीयले करिब एक घण्टाको प्रयासमा लिङ्गो उठाइएको हो। ५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो उठाइएको हो।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। यसअघि आज बिहान पोटरीस्क्वायर स्थित कुमालेटोलमा स्थानीयले उठाएको हात नभएको लिङ्गो उठाएका छन्।
यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज लिङ्गो उठाएका छन्। यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र आगामी बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा छ।
लिङ्गो उठाउने क्रममा सात जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको भक्तपुर अस्पताल र गम्भीर घाइते एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता केशव प्रसाईले जानकारी दिए। रासस