भक्तपुरमा ५५ हाते लिंगो ढालेर नयाँ वर्ष मनाइँदै, के भन्छ ईतिहास ?
प्रकाशित २०७५ वैशाख १ शनिबार
274
Shares
काठमाडौं । भक्तपुरको प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा अन्तगर्त वैशाख १ गते ५५ हात लामो लिंगो ढालेर नयाँ बर्ष मनाइँदैछ । हरेक वर्षको अन्तिम दिन चैत मसान्तमा भेलुखेलको योसिंखेलमा ठड्याइएको ५५ हात अग्लो लिंगो वैशाख १ गतेका दिन ढाल्ने परम्परा छ ।
चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र शानिबार दिनभर भव्य मेला गरि साँझ लिङ्गो ढाल्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो दिन अर्थात् बिस्केट जात्राको चौथो दिन, शुक्रबार बेलुका भेलुखेलको योंसिखेलमा ५५ हात लामो लिंगो ठड्याइएको थियो ।
तान्त्रिक विधि अनुसार दशकर्म बिधान गरी भेलुखेलमा पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत गर्न ५५ हात लामो लिंगो चैत मसान्तमा ठड्याएर वैशाख संक्रान्तिमा ढाल्ने परम्परा छ ।
बिस्केट जात्रा अन्र्तगत ठड्याइएको लिंगोंको कोखामा नागनागिनको प्रतिकस्वरुप २ वटा ध्वजा एकसाथ झुण्ड्याइन्छ । ती ध्वजालाई वीरध्वजा भनिन्छ । त्यस्तै लिगों उभ्याउनका लागि बाँधिएका ८ डोरीलाई अष्टमातृकाको प्रतिक मानिन्छ ।
लिच्छवीकालमा नाग वा सर्पलाई बी र स्यातः लाई मारेको भन्ने अर्थ लाग्छ । सर्प मारेको आर्थत् बिस्यात नै कालान्तरमा अपभ्रंश भएर बिस्केट नाम रहन गएको जानकारहरुको दाबी छ ।
जात्राको किम्बदन्ती
किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा एकजना प्रतापी राजाकी अत्यन्तै सुन्दर राजकुमारी (छोरी) थिइन् । राजाले आफ्नी छोरीसँग विहे गर्नेलाई नै राजगद्दी सुम्पने प्रस्ताव राखे । राजगद्दी पाउन ती राजकुमारीसँग बिहे गर्न धेरै कुमार आए । तर राजकुमारीसँग बिहे गर्नेहरु एकपछि अर्को गर्र्दै पहिलो रात नै ओछ्यानमा मर्दै गए ।
एक दिन बलवान र बौद्धिक राजकुमार आएर राजकुमारीसँग विहे गर्ने इच्छा राजासँग प्रकट गरे । राजा राजी भए । विहेको पहिलो रात राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लागे । राजकुमारले त्यतिनै बेला खड्गले काटेर नागनागिनलाई दुई दुई टुक्रा पारिदिए ।
सधैंझैं भोलिपल्ट गाउँलेहरु राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुइटा नाग–नागिनी मरेको देखेर खुशी भए । तिनै अजिङ्गरको रूप धारण गरेका नागनागिनी मारिएको खुसीयालीकासाथ बिस्केट जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको लिङ्गो भेलुखेलस्थित ल्योसिंखेलमा ठड्याउने गरिएको जनविश्वास छ ।
यो लिङ्गो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जङ्गलबाट तान्त्रिक विधि अनुसार पूजा गरी ल्याइन्छ । रुख छनौट गर्न बोको पनि सँगै लिएर जाने गरिन्छ । बोकाले जुन रुख छुन्छ, त्यही रूखमा बोकाको बली चढाइ काटेर ल्याउने चलन अहिलेसम्म चल्दै आएको छ ।
जात्राको ईतिहास
नेपाल सम्वत २६८ मा भक्तपुर शहर स्थापना हुनुभन्दा अघिनै यो जात्राको परम्परा सुरू भइसकेको पाइन्छ । यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको र नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्लले जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने चलन बसाएको संस्कृतविदहरुको भनाइ छ ।
शुरूमा विस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन चलेको हो । यो जात्रा हेरेमा मनोकांक्षा पुरा हुने र शत्रु नाश हुने जनविश्वास छ ।
नेपालको प्राचिन शहर भक्तपुरमा नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्केट जात्रा मनाइँदै आएको छ ।
लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन शुरू गरिएको हो । आठ रात नौ दिन सम्म मनाइने बिस्केट जात्रा गएको २७ गते सुरु भएको हो । जात्राको अन्तिम दिन ५ गते प्रसिद्ध पाँचतले मन्दिरमा रहेको भैरवको रथ तानेर मन्दिरको पश्चिम कुनामा राखिन्छ भने बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि, तान्त्रिक विधिअनुरूप पूजा गरेर जात्रा सम्पन्न गरिन्छ ।