टोखाको बिष्केट जात्रा : मसानकालीमा जिउँदा भंगेरा, सर्प र कालो बोकाको होम
प्रकाशित २०७५ वैशाख १ शनिबार
509
Shares
काठमाडौं । नयाँ वर्षको दिनदेखि काठमाडौंको टोखामा चार दिन बिस्केट जात्रा मनाइन्छ । वैशाख १ गतेदेखि विधिवत रुपमा टोखामा मनाइने बिष्केट जात्रालाई स्थानीयले बिस्का नखः भन्छन् । नयाँ वर्षको दिन टोखाको तीर्थस्थल सपनतीर्थको सपन विनायक मन्दिरमा ठूलो मेला लाग्छ ।
वैशाख १ गते स्नानका लागि सपनतीर्थको सिद्धपोखरीमा पानी थुन्ने गरिन्छ । मेला लाग्नु चार दिन अघिदेखि नै सिद्धपोखरीमा पानी जम्मा गर्न थालिन्छ । नयाँ वर्षसँगै सपनतीर्थ मेला शुरु हुन्छ । सपनतीर्थको सिद्धपोखरीमा मेला भर्न देशका विभिन्न ठाउँबाट श्रद्धालुहरु टोखा पुग्छन । नयाँ वर्षकको पहिलो दिन सपनतीर्थ सिद्धपोखरीमा स्नान गर्नाले रोग निको हुने जनविश्वास छ । वैशाख १ गतेदेखि ४ गतेसम्म मौलिक परम्परा अनुरुप टोखामा बिस्केट जात्रा मनाइन्छ ।
चैत ३० गते बेलुका सपनविनायक गणेश तथा चण्डेश्वरी भगवतीको खटलाई विशेष बाजागाजा र दियोका साथ नगर परिक्रमा गराई सपनाविनायक गणेशलाई सपनातिर्थमा र चण्डेश्वरी भगवतीलाई चण्डेश्वरी परिसरमा लगेर बिश्राम गराइन्छ।
राती मसानकाली देवीघरबाट नवदुर्गाका मूर्तिहरु सहितको खटमा राखेर टोखाका मुख्य चोक चोकमा घुमाउँदै र बिसाउँदै नगर परिक्रमा गराएपपछि, मन्दिरको पूर्वपट्टि ज्यापुको मसानघाटमा खट बिसाएर मूर्तिहरु मन्दिरभित्र सजाउने काम गराइन्छ ।
गणेश,कोथु गणेश, सपन बिनायक, महादेव, सरस्वतीको मूर्ति लगायतका देबी देवताका सात वटा खटलाई नगर परिक्रमा गरी जात्रा मनाइन्छ । जात्रा शुरु भएको सूचना दिनका लागि इन्द्रजात्राका बेला ठड्याइएको लिंगोमा साँझ तपलाछीस्थित महादेवको प्रतिकका रुपमा विश्व ध्वजा फहराउने गरिन्छ । यसरी हलपटाय् (ध्वजा) लिंगोमा फहराई सकेपछि जात्रा शुरुभएको संकेत रुपमा लिइन्छ ।
मसानकालीको महायज्ञ
नयाँ वर्षको पहिलो दिन, बेलुकीपख भुतखेलस्थित मसानकाली मन्दिर परिसरमा महायज्ञ गरिन्छ । महायज्ञमा आचाजु (पुजारी) ले, देवीलाई जमिनमा उम्रिएका १ सय ८ प्रकारका अन्न, एक जोडी जिउँदो भंगेरा, एकजोडी माछा, एक जोडी सर्प र एउटा निख्खर कालो बोको जीवितै दनदनी बलिरहेको आगोमा होम गर्ने र पुजा गर्ने गर्छन् । जोडी भंगेरामध्ये एउटालाई भने आकाशमा उडाइन्छ भने, हिजोआज जिउँदा सर्प फेला पार्न गाह्रो भएकोले, सर्पको काँचुली हवन गर्ने गरिन्छ ।
वैशाख १ गते बेलुकी होम गरेपछि सपनतीर्थ परिसरबाट सपनविनायक गणेशको खटलाई साँझ नगरमा फर्काउने काम गरिन्छ ।
पुजा आजा गरेपछि जात्रामा संलग्नदेखि अबलोकन गर्नेसम्म सबैलाई गुठीद्धारा समय्बजी दिने चलन छ ।
लगतै, चण्डेश्वरी परिसरमा चण्डेश्वरी देवीलाई मरजा (विशेष प्रकारको भात) खुवाएपछि खटलाई बाजागाजासाथ नगर परिरक्रमा गराइन्छ । सँगसँगै सपनाविनायक गणेशको पनि बजार परिक्रमा गराइन्छ । नगर परिक्रमापछि साँझ ७ः३० बजे तिर चण्डेश्वरी देवी र सपनविनायकको खटलाई दुई छुट्टै टोलमा पुरयाउने गरिन्छ ।
टोखाको खट जात्रा भक्तपुरको बिष्केट जात्रासँग धेरैजसो मिल्दोजुल्दो रहेको जात्रा व्यवस्थापन समितिका सल्लाहकार गणेशराम श्रेष्ठ बताउँछन् । टोखामा इन्द्रजात्रामा ठड्याइएको लिंगो ५ गते ढालेपछि, जात्रा सम्पन्न हुन्छ ।