काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिँदैछ । ललितपुरको पुल्चोकमा बनाइएको ३२ हात अग्लो रथमा मंगलबार रातो मच्छिन्द्रननाथलाई रथारोहण गरिँदैछ ।
हरेक बर्षको बैशाख शुक्लपक्ष प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइन्छ । मिननाथलाई भने आउने बिहिबार मात्रै रथारोहण गराइदैछ ।
बिहिबार मीननाथलाई ललितपुरकै टंगलमा निमार्ण गरिएको रथमा रथारोहण गराइन्छ ।
मंगलबार अपरान्ह रातो मन्छिन्द्रनाथलाई बाजागाजाका साथ बिशेष पुजाआजा गरी पानेजुहरुले खटमा बोकेर पुल्चोक ल्याएर, रथमा बिराजमान गराएसँगै मुलुककै सबैभन्दा लामो रथजात्रा शुरु हुन्छ ।
गएको चैत कृष्ण पक्ष प्रतिपदाका दिन महास्नान गरेपछि रातो मच्छिन्द्रनाथको दशकर्म बिधि न्वारन, पास्ने, ब्रतबन्ध, गुफा राख्नेदेखि सबै विधि पुरा गराइएको छ ।
रातो मच्छिन्द्रनाथलाई महिला र पुरुष दुवैको प्रतिकका रुपमा लिई दुवैलाई गरिने कर्म गराइन्छ ।
त्यस्तै नेम्कुलहरुले रातोमच्छिन्द्रनाथको रगंरोगन गर्ने र श्रृंगारका काम गरिसकेका छन् । चैत कृष्णपक्षदेखिनै शुरु गरिएको रथ निमार्णको काम सिन सम्पन्न भइसकेको छ ।
रथ ६ गते पुल्चोकबाट तानेर गाबहाल पुर्याइने
मंगलबार मच्छिन्द्रनाथलाई रथमा रथारोहण गराएसँगै ६ गते बिहीबारदेखि रथयात्रा शुरु हुन्छ । मीननाथलाई भने रातो मच्छिन्द्रनाथको रथयात्राका दिन बिहिबार मात्रै रथारोहण गराइन्छ ।
टंगल टोलमा रथारोहण गरिएको मीननाथको रथलाई भने, रातो मच्छिन्द्रनाथको बाटो हेर्न लैजाने परम्परा छ । टंगल टोलबाट मीननाथको रथलाई तानेर ललितपुर महानगरसम्म बाटो हेर्न लैजाने गरिन्छ ।
त्यहाँ रातो मच्छिन्द्रनाथलाई पुल्चोकबाट नगरपालिकासम्म तानेपछि मच्छिन्द्रनाथ अघिअघि र मीननाथ पछिपछि गराएर रथयात्रा गरिन्छ । यो रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुदै जावलाखेल पु-याइन्छ ।
गएको चैत कृष्ण पक्ष प्रतिपदाका दिन ललितपुरको लगनखेलस्थित डबलीमा रातो मच्छिन्द्रनाथको महास्नान गराइएको थियो ।
त्यसै दिन टंगल टोलमा रहेको मिननाथलाई पनि मन्दिर परिसरमै रहेको डबलीमा महास्नान गराइएको थियो । रथयात्राका बारेमा नेपाल पञ्चाङ्ग निर्णायक समितिमा विवाद सामान्यतया रथारोहण शुरु गरेको चौथो दिनमा रथयात्रा गर्ने परम्परा छ ।
त्यही परम्परा अनुसार यसपाली रथारोहण गरेपछिको चौथो तिथि ६ गते चतुर्थी परेकाले त्यसै दिन रथयात्रा हुने मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष कीर्र्तिमर्दन जोशीले जानकारी दिए ।
रथ यात्राका बारेमा क्यालेण्डरमा मिति राख्ने बिषयमा यसपाली नेपाल पञ्चाङ्ग निर्णायक समितिमा भने विवाद समेत भएको थियो । दिनले तेस्रो भएपनि तिथिले चौथो दिन परेकाले ६ गते चतुर्थी तिथिका दिन रथयात्रा शुरु हुने जोशीको भनाइ छ ।
तर रथयात्रा ४ दिनका हिसाबले पन्चमीमै गर्नुपर्ने भन्दै समितिमा केही सदस्यले अडान राखेपछि बिगतका इतिहासका प्रमाण देखाउनुपर्ने बाध्यता समेत आएको समिति सदस्य जोशीले गुनासो गरेका छन् ।
गएको चैत पहिलो साता नै समितिले क्यालेण्डरमा चाडपर्वको तिथि मिति राख्ने काम सम्पन्न गरिसक्नुपर्ने भएपनि तिथि टुट भएका कारण मच्छिन्द्रनाथको रथयात्रा शुरु गर्ने दिन लगायतका बारेमा विवाद भएको थियो ।
रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा महास्नान गर्ने दिन र रथारोहण गर्ने तिथि शदियौंदेखि प्रतिपदाकै दिनमा मात्रै गरिने र रथयात्रा चतुर्थीकै दिनमा मात्रै हुने गरेको छ ।
तर बेलाबेलामा समितिमा समुदायका चाडपर्वका बारेमा जानकारी नभएका व्यक्ति आइदिँदा विवाद हुँदै आएको जोशीको गुनासो छ ।
यसपाली क्यालेण्डर बाहिर आउन नै ढिला भएको थियो । चैत मसान्ततिर मात्रै क्यालेण्डर आएको हो । त्यसमाथि यसपाली सरकारले पनि चाडपर्वका अधिकांश बिदा कटौति चैतको अन्त्यतिर गर्दा, थुप्रै क्यालेण्डर बजारमा आइसकेका थिए ।
ढिलागरी आएको सरकारको निर्णयका कारण यसपाली पनि धेरै चाडपर्वका दिनको बिदाका बारेमा अन्योल र विवाद पर्ने देखिएको छ ।