arrow

मुगुको विकट स्थानमा टेलिकमको जीएसएम मोबाइल सेवा सञ्चालन

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
nepal-telecom-logo.jpg.jpeg

काठमाडौं । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो ।

मुगुम कर्मारोङ जिल्लाको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो । यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ । मुगु सदरमुकाम गमगढी र प्रसिद्ध राराताल देखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ । उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए । अब भने उनीहरुले घर आँगनमै मोबाइल सेवा प्रयोग गर्न पाउने भएका छन् ।

अब यो सेवाबाट त्यस स्थानका करिव २ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । उनीहरुले जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् ।

सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ