“मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ”
प्रकाशित २०७५ वैशाख ८ शनिबार
531
Shares
बर्दिवास ।‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको छ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भनिन्, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।”
महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आएकि छन् । त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्नेसुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो परिवारकी अभिभावक रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो ।
“नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ (शवनम) निकै फूर्तिली बन्दै आएकी थिई”, रहिशाले आज बिहान बस्दै आएको साझा संस्था भवन अगाडिको आँपको रुखमा अडेस लगाएर भनिन् , “उहाँ (माधवकुमार नेपाल)ले दुःखकष्ट खेपेर पनि नानीहरुलाई पढ्न नछुटाउनू भन्नुभयो, “सानो छोरा सद्दाम त धेरै सानो छ, शवनम र जाविर (ठूलो छोरा) चाहिँ नियमित स्कुल गइरहेका छन् ।”
“नेता नेपालले मेरो हातमा दिएको पैसा त शवनम र जाविरले देखिरहेका थिए”, रहिशाले भनिन् , “अहिले आमा, एउटा बिस्कुट ल्याइदिनुस् भन्छन्, मलाई मरेको जुनीझैँ भएको छ ।” त्यति मोटो रकम जिन्दगीमा पहिलो पटक समातेको भए पनि त्यो भोग्न आफ्नो भाग्यमै नरहेको रहिशाको बिलौना छ । रहिशाको सो पीडाबाट बेखबर शवनम भने आज बिदा भएकाले आइतबार स्कुल जाने लुगा धुनुपर्ने भन्दै आमासँग झगडा गर्दै थिइन् ।
“नाम लेखाएको दिनयता उनलाई स्कुल जान तयार होऊ भन्नु पर्दैनथ्यो”, आफ्नी सात वर्षीया छोरी शवनमको आनिबानीमा आएको परिवर्तनबाट पाएको खुशी तीन दिन नबित्दै खोसिएको बताउँदै रहिशाले भनिन् , “उनले दिएको पैसा त चोरेका छन्, नेपालले दिएको माया त मेरो हृदयमै छ, त्यही मायाको बलले नानीहरु पढाउँछु ।”
गत बुधबार एमाले नेता नेपालले शवनम र बर्दिवास–१४ कै अति विपन्न चमार (सार्की) जातिका चार वर्षीय कृष्ण महरालाई बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा क्रमशः कक्षा १ र बालकक्षामा नामांकन गराउँदै अभिभावकत्व लिएका थिए । नेता नेपालले नामांकनपछि दुवै बालबालिकालाई काखमा राखेर “तिमीहरु पढेर ठूलो र असल मान्छे बन्नुपर्छ”, भनेको कुराले शवनममा पढाइबारे निकै जाँगर पलाएको आमा रहिशा बताउछिन् ।
“उहाँ (नेता नेपाल)ले तीन वटै नानीहरुलाई पढ्न नछुटाउनू, केही अप्ठ्यारो परे मलाई भन्नू भन्दै फोन नम्बर दिनुभएको छ”, रहिशाले भनिन् , “यसपालि अब मांङचाङ गरेर पनि धान्छु, आघौँ नाम लेखाउने बेलामा उहाँलाई सम्झौँला ।”
मुसलमान समुदायमा लुगा सिउने पेशा अँगाल्ने दर्जी जातकी रहिशा गरीबी र अभावबीच पनि इच्छाशक्ति भने दर्हो भएकी महिला भएकी उनका छोराछोरी पढ्ने राष्ट्रिय आधारभूत विद्यालय बर्दिवास–१४ का प्रअ शिवविक्रम थापाको भनाइ छ । “नेता नेपालले अभिभावकत्व लिँदै म हेर्छु भन्नुभएको छ, थोरतिन विद्यालयबाट हुन सक्ने सहयोग र रेखदेख हामी गर्छौं”, प्रअ थापाले भने, “यिनी (रहिशा) पढाउँछु भन्नेमा दृढ छन्, यिनका नानी पढ्छन् ।”
नेता नेपालले नै अभिभावकत्व लिएका बर्दिवास–१४ कै रामबाबु र विना महराका छोरा कृष्ण पनि सानै उमेरमा जिज्ञासु देखिएकाले उनको पढाइ पनि राम्रो हुने प्रअ थापाको मूल्यांकन छ । नेता नेपालले गत बुधबार शवनम र कृष्णको पठनपाठन र स्थानीय अभिभावकत्व लिइदिन प्रअ थापालाई आग्रह गर्दै दुवैको पढाइलाई निरन्तरता दिनका लागि अर्थ अभाव हुन आफूले नदिने बताएका थिए । रासस