रौतहट। पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताएका छन्। रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले उक्त विचार राखेका हुन्।
देशमा अबको यात्रा सुशासन, स्थिरता र समृद्धिको रहेको उनले स्पष्ट पारे। अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुपर्ने समय आएको बताए। देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूचीमा परेको उनले जानकारी दिए।
चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुले निर्देशन दिएको प्रचण्डले स्पष्ट पारे। कार्यक्रमका सांसद प्रभु साहले मानव सूचकाङ्कमा सबभन्दा पछाडि ७५औँ स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दाबी गरे।
नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२ जुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराए।
कार्यक्रममा शहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुप्ताले आज शिलान्यास भएको सडकको कूल लागत रु आठ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिए। रासस