शुल्क वृद्धि फिर्ता गराउन संयुक्त विद्यार्थी संगठनद्वारा देशभर अभियान शुरु
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
669
Shares
भक्तपुर। निजी विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ। आज भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्न गराउन माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हो।
अनेरास्ववियू, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र नेक्राविसंघले संयुक्त ज्ञापनपत्र बुझाएपछि अनेरास्ववियूका कावा अध्यक्ष महेश बर्तौलाले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान भक्तपुर नगरपालिकाबाट शुरु भएको बताए। केही दिनभित्रै सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएर शुल्क वृद्धि फिर्ता गर्न दबाब दिने बताउँदै उनले शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन शुरु गर्ने बताए।
नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाही, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ, अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेल र नेक्राविसंघका अध्यक्ष नीरज लबजुसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो।
सरोकारवालासमेतको सहमतिमा सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गरी निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धि फिर्ता गराउन विद्यार्थी संगठनले माग गरेका छन्। विद्यालयको अनुगमन गरी मापदण्ड नपुगी सञ्चालन गरिएका विद्यालयलाई कारबाही गर्न माग गरेको अनेरास्ववियूका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले जानकारी दिए।
विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने तयारी भइरहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले बताए। आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन सरकारसमक्ष अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौं र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले माग गरेका छन्। रासस