काठमाडौं । काठमाडौं उपत्यकामा यसपाली प्रि मनसुनमा औसत भन्दा दोब्बर बर्षा भएको छ । प्रिमनसुनको अबधीमा, अप्रिल महिनाभर ६१ मिलिमिटर बर्षा हुनु औसत मानिएपनि उपत्यकामा यसपाली १३२ मिलिमिटर बर्षा भइसकेको छ ।
पिमनसुनको गतिविधि बढी सक्रिए भएर एक सातादेखि पानी पर्ने र रोकिने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै एक महिना मेसम्म प्रि मनसुन नै जारी रहने भएकाले पानी पर्ने र रोकिने क्रम, अझै एक महिनासम्म जारी रहने विभागका मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज आइतबार पनि पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । अस्ति शुक्रबार बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् श्रेष्ठको भनाइ छ । यो अवस्था अझै दुई तीन दिनसम्म मध्य र पूर्वी क्षेत्रमा कामयै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी बंगालको खाडीबाट आएको जलवाष्प तथा स्थानीय रुपमा पश्चिमी वायुको प्रभाव सहित मनसुनी न्यूनचापीय प्रणाली सक्रिय भएकोले मुलुकभर मौसममा बदलाव आएको मौसमबिद बरुण पौडेल बताउँछन् । पानी पर्ने र रोकिने क्रम जारी रहेपनि झरी पर्ने सम्भावना भने नभएको मौसमबिद पौडेलको दाबी छ । आज मौसम एकछिन खुले पनि फेरि बदली हुँदै केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने उनले बताए ।
गएको २४ घण्टामा बिराटनगरमा सबैभन्दा बढी ३५ मिलिमिटर पानी परेको छ भने पोखरामा २२ मिलिमिटर तथा काठमाडौं उपत्यकामा ६ मिलिमिटर पानी परेको बिभागले जनाएको छ । काठमाडौं लगायत देशभर शुक्रबार बेलुकादेखि मौसममा बदली आएको हो । राजधानी काठमाडौं लगायत कतिपय ठाउँमा वर्षा भएको छ भने कतिपय ठाउँमा असिनासमेत परेको थियो ।