रिभर यातायात व्यवसायी संघका अध्यक्ष सहित ६ जना पक्राउ
कैलाली-कञ्चनपुरका समितिका केही पदाधीकारी भने लागे भारततर्फ
देवानन्द न्यौपाने,नवराज खनाल,
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
384
Shares
कैलाली । सरकारले गरेको निर्णयको विरोध गदै यातायातका साधन ठप्पगरी हड्तालमा उत्रीएका यातायात ब्यावसायिहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले खारेज गरेको यातायातको सिन्डीकेट प्रणालीको बचाउमा लागेको आरोपमा जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले कर्णाली रिभर यातायात व्यवसायी संघका अध्यक्ष सहित ६ जना पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक साउँदका अनुसार सिन्डीकेटको पक्षपोषण गरेको भन्दै कर्णाली यातायात समितिका अध्यक्ष धिरज शाही सहित महासचिव गणेशराज ओली, कोषाध्यक्ष जैरु बुढा र दुई जना सदस्य ज्ञानु भण्डारी र कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरिएको हो । यस्तै कर्णाली यातायातको टीकापुरमा रहेको काउन्टर ईन्चार्ज हिक्मत खड्कालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अध्यक्ष शाहीलाई चिसापानीबाट पक्राउ गरिएको हो भने अन्यलाई लम्कीबाट पक्राउ गरिएको हो ।
सिन्डिकेटको पक्षमा आन्दोलन गर्दै सवारी साधन नचलाउने यातायात व्यवसायी संघका पदाधीकारीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कैलालीका कुनै पनि यातायात व्यवसायी सम्पर्कमा नभएको र उनीहरु मोवाईल समेत अफ गरेर वसेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपि विनोद घिमिरेले जानकारी दिए । विहानदेखि राजमार्ग क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि खोज तलास गरिरहेको भएपनि पदाधिकारीहरु सडकमा नआएको उनले बताए ।
प्रहरीले पक्राउ गर्न थालेपछि कैलाली कञ्चनपुरका समितिका केही पदाधीकारी भारततर्फ गएको पनि बुझीएको छ । यातायात समितीका पदाधिकारीहरुलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले वताए ।
सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले आज गाडी चलाएका छैनन् । छोटो दुरीका सवारी साधनहरु चलिरहेपनि लामो दुरीका सवारी साधन नचल्दा यात्रुहरुरुलाई समस्या भईरहेको छ । दैनिक सयौंको संख्यामा लामो तथा छोटो दुरीका बसहरु सञ्चालनमा रहेका बसहरु नचलाएपछि यात्रुहरु अलपत्र परेका हुन् । त्यस्का लागि वैकल्पिक वाटो खोजिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले वताए । यसैगरी सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ भने समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । प्रदेश नम्वर ७ मा दर्जन बढि यातायात समितीहरु रहेका छन् ।