५ प्रदेशमा मतदान जारी : साधारण सदस्यलाई पनि मताधिकार
प्रकाशित २०७५ वैशाख २२ शनिबार
860
Shares
काठमाडौं। नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि आज बिहान ८ बजेदेखि मतदान भइरहेको छ। मुलुक संघीयमा गएपछि महासंघले पनि आफुलाई संघीय संरचना अनुसार चुनाव गरेको हो। महासंघले उपत्यका र ७ प्रदेश सहित आफ्नो संघीय संरचनालाई १० प्रदेशमा विभाजन गरेको छ।
यसअघि नै ५ वटा प्रदेशका अध्यक्ष सहित सदस्यसम्म सबै निर्विरोध भइसकेकोले आज ५ वटा प्रदेशमा मतदान भइरहेको महासंघका केन्द्रीय महासचिव रमेश विष्टले जानकारी दिएका छन्। आज उपत्यकामा महासचिव र समावेशी सचिव सहित ४ पदका लागि मतदान भइरहेको छ भने, प्रदेश नम्बर ७ मा अधयक्ष सहित २ पद र प्रदेश नम्बर ३ मा अध्यक्षको लागि मतदान भइरहेको छ। त्यस्तै प्रदेश नम्बर १ र २ मा पनि मतदान हुँदैछ। उपत्यकामा केन्द्रीय कार्यालय र प्रदेशमा जिल्ला जिल्लाका शाखा कार्यालयबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ।
यसअघि केन्द्रीय कार्यसमितिको चुनावमा शाखाले चुनेर पठाएका पार्षदले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेकोमा अबदेखि हरेका साधारण सदस्यले मतादन गर्न पाउने व्यवस्था मिलाइएको छ।
प्रदेश समिति निर्वाचनमा सबै साधारण सदस्यले मतदानको अधिकार पाए पनि महासंघका थुप्रै साधारण सदस्यले चुनावबारे थाहै नपाएको भन्दै गुनासो गरेका छन्। महासंघका कूल १३ हजार ५० साधारण सदस्यमध्ये प्रदेश १ मा १४३४, प्रदेश २ मा ८५०, प्रदेश ३ मा १२८४, प्रदेश ७ मा ९९६ र उपत्यकामा २०८३ मतादाता छन्।