पाल्पा। रामपुरमा एक अनौठो गुफा फेला परेको छ। रामपुर नगरपालिकाको वडा नं ५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो। स्थानीयवासीले जमिनमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो। करिब डेढ सय मिटर लम्बाई रहेको गुफा फेला परेको स्थानिवासी दिनेश कुमालले जानकारी दिए।
गुफाभित्र शिवलिङ्ग, हात्तिका चित्र, शंख, विभिन्न भगवान्का आकृतिहरु, पानीका धारा, पानी पोखरीहरु रहेका छन्। गुफाको भित्रि भागमा फैलिएकोले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमाल बताउँछन्। यहाँका १३ जना स्थानीय युवाले गुफाको खोजी अनुसन्धान गर्ने क्रममा भित्र पसेर हेर्दा अनौठो प्रकृतीको गुफा फेला परेको नगरपालिका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिएका छन्।
गुफाले रामपुरको पर्यटन विकासमा ठुलो टेवा पुर्याउने हुदा गुफाको संरक्षण र विकासमा नगरपालिका लाग्ने प्रवक्ता न्यौपानेले बताए। गुफाभित्र रहेका अलौकिक वस्तुहरुको सदुपयोग गर्दै पर्यटन विकासमा अगाडि बढाउन सके यस क्षेत्रमा प्रशस्त मात्रामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय समाजसेवी युवा ओमप्रकाश रेग्मी बताउँछन्। यस क्षेत्रमा आधा दर्जन भन्दा बढी गुफाहरु रहेका छन् तर यसको संरक्षणको विषयमा अहिले सम्म कसैको ध्यान पुग्न सकेको छैन।