पूर्व प्रधानमन्त्री नेपालको फोनले काम गरेन, मेयरको घरमा तोडफोड
प्रकाशित २०७५ वैशाख २२ शनिबार
748
Shares
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका का प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो ।
सोही घरमा सहकारी सञ्चालन गर्दै आएका चन्द्रभक्त श्रेष्ठले घटनाका बारेमा जानकारी दिँदै भने, “सिसी क्यामराको दृश्य हेर्दा राति दुईजनाको समूहमा आएका व्यक्तिले प्रमुख श्रेष्ठको घरको मूलढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।”
नेपाल–कोरिया मैत्री अस्पतालमा उपचाररत प्रमुख श्रेष्ठले भने–“घरमा तोडफोड भयो भन्ने सुनेँ, ममाथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राऊ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो, खै के कारबाही होला र ?”
महानगरीय प्रहरी वृत्त, थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले नगरप्रमुख माथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताए । तोडफोड गर्ने नियत भन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उनले घटनाबारे अनुसन्धान शुरु गरेको बताए ।
केहि दिन पहिले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरीसँग आग्रह गरेका थिए ।
गत शनिवार मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर सांघातिक आक्रमणमा घाइते भई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गरेका थिए ।
उनले फोनबाटै भने–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।”
प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराएका थिए ।
यसैबीच, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी १५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । मध्यपुरथिमिमा शनिवार भएको स्थानीयको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दबाब दिन, नगर प्रमुखको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका नवीनप्रकाश श्रेष्ठले जानकारी दिए ।