arrow

जन्ती आए विद्यालय विदा

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख ३० आइतबार
school-terai.jpg

वीरगन्ज। स्कुलमा बरात आएकाले सरले छुट्टी दिनु भएको छ, पर्साको जीराभवानी गाउँपालिकाको शंकरसरैयामा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत  १२ वर्षीय बालक धर्मेन्द्र कुमारले भने, ‘गाँउमा बरात आयो भने हामीलाई रमाइलो हुन्छ, किनकी स्कुल नगई घरमै खेल्न पाइन्छ।

शंकरसरैयाको प्राथमिक विद्यालयमा स्थानीय अनरजित महत्तोकी छोरीको विहेमा भारतको सेर्वा भुस्की गाउँबाट आएका जन्तीलाई भोजभतेर खुवाउन र सुताउन राखिएका कारण शिक्षकले विद्यार्थीलाई छुटटी दिएका हुन्। 

शनिबार राति आएका जन्तीलाई विद्यालयमै भोजभतेर गराएर कक्षाकोठामा बास बसाइएको छ। सँगै जन्तीको स्वागत र मनोरन्जनका लागि आइतबार विद्यालय परिसर भित्रै आर्केष्टा नाच आयोजना गरिएपछि विद्यालय बन्द भएको हो। 

विद्यालयका प्रधानाध्यापक जय नारायण राउतले भने गाउँमा बिहेको जन्ती आउँदा अभिभावकको दबाबमा स्कुल बन्द गर्नुपर्ने बाध्यता रहेको बताए। ‘हामीले विद्यालयमा जन्ती राख्न पाइदैन, विद्यालय बन्द गर्दा केटाकेटीको पढाइ बिग्रिन्छ भनेर बारम्बार भन्दा पनि अभिभावक नै मान्दैनन्, जबरजस्ती गर्छन्,’ प्रधानाध्यापक राउतले भने, ‘अब समाजले नै जबरजस्ती गर्न थालेपछि हाम्रो केही चल्दैन, विद्यालय बिदा दिन्छौँ।’

बिदा नदिदाँ कक्षाकोठाका ढोकासँगै शौचालयका ढोका समेत तोडफोड गरेर प्रयोग गरेको प्रधानाध्यापक राउतले बताए। जीराभवानी गाँउपालिकाका अध्यक्ष रामपृत महत्तोले भने जन्तिलाई राखेर विद्यालय नै बन्द गर्ने काम अराजक भएको बताए।

विद्यालयमा जन्ती राख्नै नपाइदने भन्दै उनले भने, ‘त्यसमा पनि जन्तीकै कारण विद्यालय बन्द गरेर विद्यार्थीलाई छुटटी दिनु झन अराजकता हो। उनले जन्तीलाई राखेर विद्यालय नै बन्द गर्ने शिक्षकहरुलाई गाँउपालिका कार्यालयले कारबाही गर्ने बताए। कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयमा ७५ विद्यार्थी रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ