नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्न वाइसिएलको निर्देशन
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
226
Shares
काठमाडौँ । योङ कम्युनिष्ट लिग (वाइसिएल) ले नेपाल कम्युनिष्ट पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ ।
बिहीबार नेकपाएमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत आग्रह गरेको छ ।
वाइसिएलको शुक्रवार बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको प्रक्रियालाई स्वागत गर्दै मातहतका सबै समितिलाई एकीकृत गर्ने अभियानमा लाग्ने निर्णय गरेको हो ।
बैठकपछि वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई सार्थक बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेतृत्वबाट भएको सकारात्मक पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ । एकताको भावलाई स्थानीय तहसम्म लैजान र जनतामा सम्प्रेषित गर्न आग्रह गर्दछौँ ।”