नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका लागि नीति–मापदण्ड बनाइने
प्रकाशित २०७५ जेठ ५ शनिबार
738
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ। तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ। धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए।
चार सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ। पैँतालीस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन। नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ।
यसैबीच नेकपा संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ११ बजे बस्ने जानकारी सांसद तथा पार्टी कार्यालय सचिव श्रेष्ठले दिए। रासस