arrow

नेकपाको नेतृत्वलाई भीम रावलको सोमबार साँझसम्मको अल्टिमेटम, ओली र प्रचण्ड टेन्सनमा

सम्मानजनक स्थान नपाए विद्रोह, को छन् साथमा ?  

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
ncp-bhim.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा नेतृत्वको व्यवस्थापन सही ढंगले नभएको आरोप लगाउँदै खुलेआम नयाँ मोर्चा बनाउने च्यालेन्जसहित उत्रिएका विघटित एमालेका उपाध्यक्ष भीम रावलले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएका छन् । 

संगठन संरचनामा पुनःविचार नगर्ने हो भने आफूले उचित कदम चाल्ने चेतावनी पनि रावलले ओली र प्रचण्डलाई दिएका छन् । रावलले आइतबार अपरान्ह ४ बजे पत्रकार सम्मेलनको तयारी गरेका थिए । सो सूचना मिडिया मार्फत थाहा पाएका ओली र प्रचण्डले रावललाई भेटेका थिए ।

त्यस क्रममा वाध्य भएर रावलले पत्रकार सम्मेलन नै स्थगित गर्नुपरेको थियो । दुवै नेतासंगै माधवकुमार नेपालले समेत छलफलका लागि पटक पटक आब्हान गरेर बोलाएपछि भेटेका नेता रावलले मर्यादाक्रममा देखिएको असन्तुष्टि पनि ओकलेका छन् । बालुवाटार प्धानमन्त्री निवासमा बसेको छलफल ओली, प्रचण्ड, माधव नेपाल र रावलबीच छलफल भएको थियो । 

पार्टी एकता गर्ने बेलामा धेरै कुरामा विचार नगरी शीर्ष नेताहरुलाई हेप्ने प्रवृत्तिले भएको भन्दै नेता रावलले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । एकता सही ढंगमा हुन नसक्दा पार्टी नेताहरुबीचको असमझदारी सतहमा देखिएको हो । पार्टी एकीकरण गरे लगत्तै दुई पार्टीका अध्यक्षहरुले अब सर्वशक्तिशाली पार्टी बनेको घोषणा गरेका थिए । केपी ओलीले नवगठित दल नेकपा अब दुई पाइलटले चलाउने जेट विमान जस्तो भएको बताएका थिए। तर आफू जेटमा सवार हुँदै गर्दा उनले आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई कसरी अपमानजनक ढंगमा आँसु पिउन वाध्य पारेका रैछन् भन्ने कुरा विस्तारै सतहमा आउन थालेको छ। 

के छ रावलको योजना ? 
उनी विघटित एमालेका उपाध्यक्ष हुन। उनको पनि पार्टीमा राम्रो पकड छ । उनले परेका बेलामा नेताहरुलाई बोक्ने काम गरेकै हुन् । तर एकाएक पार्टी एकता हुँदा उनीसहितका थुप्रै नेताहरु लाखापाखा भए । पार्टीभित्र पहिलेदेखि नै गुटबन्दी रहे पनि रावल चुप लागेर बसेका थिए । अहिले अस्तित्व नै मेटिने गरी कित्ता बाहिर पुगेपछि उनी मोर्चाबन्दीमा लाग्ने खुलेआम भनेका छन् । 

उनी एक्लै छैनन्। उनले सम्मानजनक स्थितिमा पीडित नेताहरुलाई नराख्ने हो भने त्यसको कडा जवाफ दिने बताइसकेका छन्। रावलले सोच्नका लागि सोमबार साँझसम्म ओली र प्रचण्डलाई समय दिएका छन्। पुराना दिनमा आफूलाई सहयोग गर्ने पार्टी नेता कार्यकर्ताहरुलाई पाखा लगाएका ओलीले धेरै सम्भावना भएका नेताहरुलाई साइजमा राख्न समेत चलखेल गरेको बुझिन्छ। केही नेताहरु साइड लागेका छन् भने केही नेताहरु विद्रोहको तयारीमा रहेका छन्। निकै जुनियरलाई समेत केन्द्रीय सदस्यमा होलेका ओलीले आफ्ना सहयात्री नेताहरुलाई छाडेपछि चर्को आलोचनामा परेका छन्। 

को को छन् रावलको साथमा ? 

रावललाई साथ दिनेमा सबैभन्दा पहिले बिघटित एमालेका वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्। उनलाई एकताबाट टाढा राखेर चीन गएको मौका पारेर वरियतामा माधव नेपाल भन्दा तल  राखेपछि झलनाथले रिस ओकलेका हुन्। एमालेका अध्यक्षसमेत भइसकेका व्यक्तिलाई कुनै वास्ता नगरिनु गम्भीर आपत्ति जनाउँदै झलनाथले ओली–प्रचण्डमाथि रीस पोखेका छन्। 

झलनाथलाई वरियता नदिनका लागि उनी एकता विरोधी भएको र ब्यापारका लागि चीन गएको गलत सूचना फैलाइएको समेत खनाल स्रोतले बतायो।  खनालले उस्तै परे भीम रावलको बाटोमा एकता गरेर अगाडि बढ्न सक्ने स्रोत बताउँछ । खनालले सम्मानित स्थान नपाए विद्रोहमा भीम रावललाई साथ दिने मनस्थिति बनाएका छन्। 

एमालेका प्रभावशाली नेताहरु हुँदाहुँदै पनि ओली–प्रचण्ड कोपभाजनमा परेका घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराई समेत रावलको विद्रोहमा सरीक हुन सक्ने स्रोत बताउँछ। माधवकुमार नेपालसँग नजिक रहेका भनिएका रावल केपी शर्मा ओलीसँग पनि उत्तिकै निकट सम्वन्धमा थिए। तर नेपाल ओलीसंग टाँसिन पुग्दा उनी निकटका नेताहरु छुट्न गए। पक्षमा वा प्रतिपक्षमा रहँदा जमेर स्पष्टसंग बोल्न सक्ने हैसियत बनाएका नेता रावल प्रदेश ७ मा काँग्रेस सभापति शेरबहादुर देउवाको टक्करमा आउँछन्। 

उनी नै यसरी एकताको अहम् खुशीमा सामेल हुन नपाउनुले चित्त दुखेका धेरै नेता तथा कार्यकर्तालाई अग्रसर भएर विद्रोह गर्न उत्साह थपेको बताइन्छ। सोमबार साँझसम्म ओली–प्रचण्डले सम्वोधन नगर्ने हो भने रावलले असन्तुष्ट एमालेका नेताहरुलाई जुटाएर छलफल तीव्र पार्ने स्रोतले बताएको छ। उनीहरुले विघटित एमालेलाई नै ब्यूँताउनेसम्मको तयारी गरेको बुझिन आएको छ। सम्वोधन नभए केही दिनको छलफल र निचोडपछि पत्रकार सम्मेलननै गरेर खुलेआम अगाडि आउने मनस्थितिमा रावल रहेको उनी निकट स्रोतको भनाइ छ। 

नेकपामा सल्कियो भुसको आगो, केपी र माधव नेपाल विरुद्ध भिम रावल मोर्चा खोल्दै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ