पार्टी एकता गर्न कमल थापाको आह्वान, बाधक भए पदबाट राजीनामा दिने
प्रकाशित २०७५ जेठ ७ सोमबार
529
Shares
पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा(प्रजातान्त्रिक)लाई पार्टी एकीकरणका लागि आह्वान गरेका छन् ।
वीरगञ्जमा सोमवारदेखि शुरु भएको राप्रपाको तीनदिने राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट राजीनामा दिन तयार भएको बताए । उनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षधर राष्ट्रवादी शक्तिबीचको एकतामा जोड दिँदै पुराना तीता कुरालाई बिर्सेर पार्टी एकीकरण गर्न आह्वान गरे।
पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष राजीव पराजुली, महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनलगायतले सनातन हिन्दू राष्ट्र र राजसंस्था जस्तो विषय पार्टीले छाडेको कारण गत निर्वाचनमा पार्टीले हारको सामना गर्नुपरेको उल्लेख गरे । बैठकले पार्टीको अगामी रणनीति, राष्ट्रको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण र आगामी कार्यदिशा तय गर्नेछ ।