मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त
प्रकाशित २०७५ जेठ ८ मंगलबार
266
Shares
काठमाडौँ । सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुभन्दा अगाडि पक्राउ परेका सात जनालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानूनीरुपमा थुनामा राखेको भन्दै उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “निजहरुलाई ३५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य पुष्टि हुने वस्तुनिष्ठ आधार कारण उल्लेख भएको देखिएन, मनासिव माफिकको कारण र औचित्य पुष्टि नगरी स्वेच्छाचारीरुपमा अनुसन्धानका लागि म्याद थप गरी थुनामा राखेको कार्य गैरकानूनी भएकाले निजहरुलाई थुनामुक्त गरिदिनु ।”
भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनुअघि गत वैशाख २५ गते अमर माझी, शिवराज नेपाली, टेकबहादुर सूचीकार, हरिचन्द्र खड्का, टेकबहादुर प्रधान, दलबहादुर थापा र लीलबहादुर बुढाथोकीलाई पक्राउ गरी केही सार्वजनिक (अपराध र सजाय) ऐनअनुसार सार्वजनिक अपराधको मुद्दा चलाइ थुनामा राखिएको थियो ।