arrow

आश देखाउनेले नै पारे निराश : ‘सत्तामा बस्नेहरुका लागि अपराधीहरु नै प्रिय हुँदा रहेछन्’

‘आमा तारन्तार पहिले आश्वासन दिने नेतालाई फोन गर्न भन्छिन्’

logo
चिरन्जीवी आचार्य
प्रकाशित २०७५ जेठ १४ सोमबार
kp_oli2.jpg

काठमाडौं । जेलमा रहेर पनि चर्चाको पात्र बनेका छन् बालकृष्ण ढुंगेल । ओललढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याको मूख्य दोषी ठहर उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । 

सर्वस्वसहित जन्मकैद सुनाइएका उनी ८ वर्ष भागि हिँडे । लामो समय भागि हिँडेका उनलाई प्रहरीले समात्ने हिम्मत गरेन । पटक–पटक वारेन्ट जारी गर्नु परेका उनलाई नसमातेर, प्रहरी प्रमुखले नै अदालतको अवहेलना गरेको उजुरी परेपछि मात्रै पक्राउ परे । 

जसैजसै उनको नाम सरकारले गणतन्त्र दिवसको अवसर पारी आम माफी दिन तयार पारेको ८ सय ५० कैदी सूचिमा आयो, यसैउसै उनको नाममा चर्चा भयो । कारागारले उनलाई असल चालचलन भएको भनेपछि त, पीडित पक्षधर र आम नागरिक अधिकांशको सिरिङ्गो तातियो । 

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले त त्यो सुन्नै सकेनन् । उनले युद्ध अपराध एवं विभत्स हत्याका दोषी आममाफी पाउने कैदीको सूचिमा कसरी परे ? भन्दै उनले प्रश्न उठाए । उनले त्यो बदर गर्न भन्दै रिट दर्ता गरिहाले । उनले हालेकाे रिटमाथिकाे सुनुवाई हेर्दाहेर्दैमा छ । अदालतले कारागारले गरेकाे सिफारिसकाे सक्कलै झिकाएपछि सरकारलाई निर्णय लिन भने छेक्बार लागेकाे छ । 

लामो समयदेखि न्यायका लागि लड्दै आएकी उज्जनकी दीदी साबित्री सबै भन्दा बढी तनाबमा छिन् । ढुंगेललाई माफि दिनेबारेको खबर सुन्नेवित्तिकै उनी झस्किइन् । अनि सम्झिईन्, सरकार ‘अपराधीलाई पुररस्कार दिन लागेछ ।’ 

आममाफीको खबर सुन्नेवित्तिकै आफ्नो मनमा उब्जिएका कुरा सम्झिँदै उनले हाम्राकुरासँग भनिन्, ‘सत्तामा बस्ने मानिसहरुका लागि अपराधीहरु नै प्रिय हुँदा रहेछन् । अनि सोझा मानिसहरुले कहाँबाट न्याय पाउनु ?’ 

बालकृष्ण ढुङ्गेल पक्राउ परेपछि न्याय जीवित रहेको बताएकी उनले कारागारकाे सिफारिसले पुरिन लागेको घाउ फेरि बल्झिाएको सुनाईन् । साबित्रीले सामाजिक सञ्जालबाट आम माफीको जानकारी पाइन् । सुरुमा विश्वास लागेको थिएन, उनले भनिन्, ‘पछि दाइले फोन गरेर त्यही कुरा  सुनाए ।’ पछि समाजिक सञ्जालमा आएको खबर सत्य रहेछ भन्नेमा मन अड्याईन् । 
कारागारले अघि बढाएको प्रक्रियाले उनलाई फेरि एकपटक आतंकित बनायो । यो समाचार सुनेसँगै परिवारमा निराशाको बादल मडारियो । 

दुखी हुँदै साबित्री भन्छिन्, ‘दोषी चाहे जो सुकै होस् सजाय पाउनुपर्छ भनेर लडियो तर, सरकार नै अपराधी बचाउन लागिपरेको छ ।’ यो समाचार सुनेपछि दुई दिनसम्म न भोक न निद्रा भयो उनलाई । दुई दिनपछि सम्हालिने प्रयत्न गरिन् । त्यसपछि विरोधका कार्यक्रमहरु गर्नको लागि आह्वान गरिन् । 

साबित्रीले यो मुद्दालाई केही मानिसहरुले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गरेको बताइन् । उनले भनिन्, ‘पहिला सधैं मेरो मुद्दामा साथ छु भन्ने केही व्यक्तिहरु अहिले विभिन्न बहाना देखाएर पन्छिन खोजिरहेका छन् ।’ 

यो मुद्दाको विषयमा कुरा गर्न उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री हुनुअघि दुईपटक भेटेकी थिइन् र उनले पनि यो मुद्दामा कुनै पनि सहनशीलता नराखि कारबाही हुने आश्वासन दिएका थिए । तर, ओलीले माओवादीसँग मिलेर सरकार बनाएकै दिन उनलाई परिसकेको थियो कि अब ओलीले पनि सघाउने छैनन् । तर, आशा मरेको थिएन, उनी भन्छिन्,  ‘कानुनै उल्लंघन गर्ने हर्कत गर्लान् भन्नेचाँहि सोचेंको थिएन ।’ 
‘जुन पार्टीले यो मुद्दा कमजोर बनाउन लागिपरेको थियो, त्यही पार्टीसँग मिलेर सरकार बनाएपछि (सरकारसँग) के आशा गर्नु ?’ 

त्यसो त यो मुद्दामा बालकृष्ण ढुङ्गेललाई कारबाही हुनुपर्छ भन्ने धेरै एमाले नेताहरु अहिले भने यस विषयमा बोल्न रुचाउँदैनन् । उनीहरुले आश मात्रै देखाए । अहिले निराश पारे ।   

के भन्छिन् उज्जनकी आमा ? 
उज्जनकी आमा रामकुमारीका आँखा ओभाएका छैनन् । आँशु रोकिएको छैन । आममाफीको कुरा त झन् उनका लागि नुनचुक छर्किए जस्तै भएको छ । आफ्ना दुई छोरा र एक नातिनी गुमाएकी उनलाई दोषी उम्काउने सरकारी प्रयत्नले दनदनी डढाईरहेको छ । आफ्ना दुई छोराको हत्याको दोषी स्वतन्त्ररुपमा घुम्ने अवस्थाको सिर्जना हुन लागेसँगै उनी सबैसँग न्यायको पक्षमा उभिनका लागि आग्रह गर्न थालेकी छिन् । साबित्रीले भनिन., ‘आमा तारन्तार यसअघि आएका नेताहरुको आश्वासन सम्झिँदै उनीहरुलाई फोन गर्न भन्नुहुन्छ तर उनीहरुले नै अहिले दोषीलाई उम्काउन लागिपरेका छन् ।’ 

उज्जनको घरको अवस्था के छ ? 
ओखलढुङ्गा घर भएका उज्जनको हत्यापछि उनको पक्षमा मुद्दा लडेका दाजुको पनि तत्कालीन माओवादीले गरिदियो । र, उनकी छोरीले पनि आत्महत्या गरिन्,, त्यसपछि उनको परिवार गाउँमा बस्न सक्ने अवस्था रहेन । 

अहिले उनका सबै परिवार काठमाडौंमा बस्दै आएका छन् । द्वन्द्वकालमा उनीहरुको घर पनि माओवादीको बम आक्रमणले ध्वस्त भयो । घरमा भएको सबै सम्पत्ति माओवादीले लुटेर लगे । 
उनीहरुको लुटेको सम्पत्तिबाट गाउँमा माओवादीको व्यारेक खुलेको थियो तर यो ब्यारेक सेनाको आक्रमणमा ध्वस्त भयो । “हामीले पछि क्षतिपूर्तिको लागि पनि धेरै ठाउँमा निवेदन दियौँ तर त्यसबापत कुनै क्षतिपूर्तिको व्यवस्था रहेनछ’, साबित्रीले भनिन्, ‘सबै कुरा सझिँदा त संसारमा हामीजस्तो अन्यायमा परेको मानिस त कोही पनि छैन होला जस्तो लाग्छ ।’

जिल्ला अदालतको फैसलापछि सात वर्ष ६ महिना जेल सजाय काटेका बालकृष्ण ढुङ्गेललाई पुनरावेदनले दोषी नरहेको भनेको थियो । तर, पछि सर्वोच्चले २०६६ पुस १९ गते जिल्ला अदालतको फैसला सदर गर्दै उनलाई  हत्यामा संलग्न रहेको भन्दै आजीवन कारवासको सजाय सुनाएको थियो । ढुंगेल फैसला भएको आठ वर्षपछि गएको कार्तिकमा पक्राउ परे । र, अहिले कैद भुक्तान गर्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ