arrow

खानेपानीको कारण बस्ती छाड्दैं स्थानीय, भन्छन्– ‘सरकारले त ठग्यो नै प्रकृतिले पनि ठग्यो’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ १७ बिहिबार
palpa-pani.jpg

पाल्पा । माथागढी गाउँपालिका ५ गोठादीको घारी गाउँका मानिसहरु खानेपानीको अभावका कारण बस्ती छाड्दै गएका छन् ।  खानेपानीको समस्याका कारण पानीको सुविधायूक्त क्षेत्रको खोजी गर्दै पर्याप्त पानी भएको ठाउँमा तीन सय घर परिवार बसाइसरी सकेका हुन् ।

पाँच सय घर परिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाई सराइका कारण दुई सय घर परिवारले यतिखेर खानीपानीको चरम अभाव र समस्या झेल्दै आएका छन् ।  भौगोलिक भू–बनोटको दृष्टिकोणबाट अत्यन्त सुन्दर र उब्जनीको हिसाबले पनि अत्यन्त उर्वरा भएको यस बस्ती पानी अभावकै कारण एकपछि अर्को गरी सिंगो बस्ती उजाडिदै गएको छ ।

 स्थानीय ७६ वर्षिय वृद्ध लालबहादुर शारुका अनुसार खानेपानीको समस्या पुरानो नै हो पहिले पहिले डाँडाको बस्ती भन्दा अलि तल पानीको श्रोत थियो, तर विस वर्ष यता पानीको श्रोत नभएको र पानी लिन झण्डै दुई घण्टा तल पुग्नुपर्ने बताए । उनले भने ‘जनसंख्या वृद्धि, मानव सृजित क्रियाकलाप, जलवायु परिवर्तनका कारण पानीको श्रोत नै हरायो ।’ गाउँका हुनेखाने कोही कता, कोही कता बसाई सरेर अन्यत्र गए ।  गरिबीले नराम्रोसंग गाजेकाहरु मात्र गाउँ बस्तीमा पूर्खाको थात, थलो कुरेर बसेको स्थानीय हुमबहादुर सारुले गुनासो पोखे ।

कृषि पर्यटनका लागि अत्यन्त उपयोगी गाउँ हो यो, यहाँ के हुँदैन ? वर्षायाममा आलुको उत्पादन गर्न सकिने ठाउँ भएपनि पानीको समस्याका कारण केही गर्ने इच्छा भए पनि गर्न नसकिएको स्थानीय बासिन्दा पूर्णबहादुर खाम्चाले बताए । तीन वर्ष अगाडि खानेपानीको समस्याको कारण माथागढी गाउँपालिका २ रुप्सेमा बसाई सरेका मानबहादुर नेपाली भन्दछन्, आफ्नो पूर्खाको थातथलो, आफु जन्मिएको गाउँ बस्ती कसलाई माया लाग्दैन र ? माया लागेर मात्र के गर्नु खानेपानीको समस्या सम्झिदा गाउँ फर्कन मनै लाग्दैन ।

खानेपानी तथा सरसफाई कार्यालयले गाउँका सजिलो र सहज ठाउँहरुमा योजना सम्पन्न गर्‍यो तर हाम्रो बस्ती रहेको ठाउँमा निकै खर्चिलो हुने ठानेर कार्यालयले हातै झिक्यो । त्यसैले त्यहाँबाट बसाई सर्ने क्रम बढेको उनले बताए । बस्ती भन्दा डेढ किलो मिटर तल सानो टंकी बाधिएको छ । त्यो पनि २०४९-०५० साल तिरेको हो । त्यो टंकी पनि जिर्ण हुँदै गएपछि टंकीमा पनि पानी कम हुँदै गएको छ । बिहान भाले बास्ना साथ डोकोमा गाग्री बोकेर नगए पानी भर्ने पालो आउदैन् एक गाग्री पानीका लागि कहिले काही २ घण्टासम्म पालो पर्खनु पर्दछ त कहिले रित्तो गाग्री लिएर घर फर्कनु परेको पार्वती सारुले आफ्नो अनुभव बताइन् ।

 गाउँपालिकाका अध्यक्ष सन्तोष थापा पनि खानेपानीको समस्याको कारण आफुलाई चिन्तित बनाएको बताउँछन् । पानीको श्रोत निकै तल छ बस्ती धेरै माथि छ । लिफ्टिङ्ग विना बस्तीमा पानी पुग्दैन पहिलो चरणमा विद्युत पोल, ट्रान्सफरमर, तार जडान र दोश्रो चरणमा पाइपलाइन विस्तार टंकी निर्माण र धारा जडान र वितरण गर्ने कार्यक्रम रहेको छ । कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएको प्राविधिक रिर्पोट छ । त्यसले गर्दा अर्को आर्थिक वर्षबाट दोश्रो चरणको कामको थालनी गरिने अध्यक्ष थापाले बताए ।

उनका अनुसार गाउँपालिकाले २० लाख रुपैँया रकम विनियोजन गरेर पानीको मूख्य स्रोत नसजकै टंकी निर्माण गरिएको छ । घारीमा जनजातीको ३ सय घरपरिवारको बस्ती रहेको छ । सबै बस्तीको समस्या एउटै छ खानेपानी, यस बस्तीमा पर्याप्त मात्रामा नगदेवाली उत्पादनका लागि अनुकुलको वातावरण भएपनि पानीको अभावका कारण जमिन बाँझो नै छाड्नु परेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।  खनेपानीको समस्याको कारण बस्ती छाड्ने परम्परा बसेको छ । तर हामीले आफ्ना समस्या माननीय सांसदहरुसंग २०४८ सालदेखि नै राख्यांै तर पहिलो सांसदले टंकी निर्माणका लागि पहल गरिदिए ।

२०५१ सालदेखि सांसदलाई आफ्नो समस्या राख्दा राख्दा हाम्रो आवाज चित्कारमा परिणत भएको स्थानीय वासिन्दाहरु बताउछन् । सरकारले त हामीलाई ठग्यो नै त्यसै माथि प्रकृतिले  पनि ठग्यो । यही अवस्था कायम रहे बाँकी रहेको बस्ती पनि बसाइ सराइको तयारी गर्नु पर्ने उनीहरुको भनाइ रहेको छ । जनप्रतिनीधि आएका छन् अब केही हुन्छ भन्ने आशा रहेको स्थानीय बताउँछन् .



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ