arrow

नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
dhakal.JPG

काठमाडौँ । नेपालका एकजना उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण गराएका हुन् ।
 
नेपाल रोजगारदाता परिषदको अध्यक्ष समेत रहेका ढकालले नेपाली उद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रमसम्बन्धी कानुनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको पनि स्पष्ट गरे।

श्रमिकहरुको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानुनमा गरिएको पछिल्लो यस सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकहरुका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पुर्‍याउने अपेक्षा नेपालका उद्यामीहरुले गरेको ढकालले बताए ।

नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राखेका छन् ।
 
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीका प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसरहरु सृजना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले बताए ।

आर्थिक बृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्नबर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने धारणा पनि उनले राखे ।

कुनै पनि देशमा र नेपालमा पनि श्रमिक र उनीहरुका संघ संगठनहरुको क्षमता अभिबृद्धि एक महत्वपूर्ण कार्य हो भन्दै औद्योगिक विकास, उत्पादकत्व बृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सृजनामा यसले सहयोग पुर्‍याउने भन्दै यस्तो क्षमता अभिबृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको पनि उनले बताए । यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको नेपालले अपेक्षा गर्ने धारणा पनि उनले सो सम्बोधनका क्रममा राखे।
   
उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजार भन्दा बढीको सहभागिता रहेको ढकालले जानकारी दिए   ।  जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्र यही मे २८ देखि जुन ८ सम्म उक्त सत्र सञ्चालन हुनेछ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ