उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने ७५ जना पक्राउ
प्रकाशित २०७५ जेठ १९ शनिबार
323
Shares
काठमाडौँ ।महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ । महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख धीरजप्रताप सिंहले उपत्यकामा चोरी घटना रातीको भन्दा दिउँसोको समयमा बढी हुने गरेको जानकारी दिए । “घरमा कोठा खोज्ने तथा भेटघाटका लागि घरमा आएको वहानामा घरमा पसी चोरी गर्ने गरेको अनुसन्धानमा भेटिएको छ,”–उनले भने ।
रातको समयमा झ्यालबाट हुक छिराई कोठामा भएको बहुमूल्य सामान चोरी गर्ने, नक्कली सुन तथा डलर देखाई लुटपाट गर्ने, अफिस समयमा सार्वजनिक यातायातमा हुने पाकेटमार, विष्कुटको धुलो शरीरमा छर्केर नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले चोरीका घटना नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा १२५ जनशक्ति परिचालन गरिएको सिंहले जानकारी दिए । रासस