स्थानीय तहमा हेलिप्याड : व्यवसायी भन्छन् सकारात्मक र व्यावहारिक निर्णय
रमेश लम्साल,सिबी अधिकारी,
प्रकाशित २०७५ जेठ १९ शनिबार
310
Shares
काठमाडौँ । विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा हेलिप्याण्ड निर्माण गर्ने सरकारको तयारीलाई सरोकार भएका व्यक्ति वा निकायले खुसी व्यक्त गरेका छन् ।
अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७५-७६ को बजेटको १२२ नम्बर बुँदामा हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गर्ने विषय समावेश गरेका छन् ।
विपद् तथा प्राकृतिक प्रकोपको समयमा राहत तथा उद्धारका लागि सबैभन्दा सहज माध्यमको रुपमा हेलिकोप्टर नै हुने भएकाले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिन लागेको हो ।
सरकारको उक्त घोषणालाई सरोकार भएका निकायले राहत र उद्धारका लागि अग्रगामी एवं व्यवहारिक निर्णय भन्दै स्वागत गरेका छन् । नेपालमा विशेषगरी पर्यटक ओसार पसार विपद्मा उद्धार तथा राहत उपलब्ध गराउन हेलिकोप्टरको प्रयोग हुने गरेको छ ।
यातायात नपुगेका दुगर्मन पहाडी वस्तीमा औषधि उपचार तथा अन्य अत्यावश्यक सेवाका लागि समेत हेलिकोप्टरको प्रयोग नै सहज हुने गरेको छ । नेपालको पहाडी तथा दुर्गम क्षेत्रमा यातायात पुगेको भएपनि बाह्रै महिना सहजरुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।
विशेषगरी दुगर्म क्षेत्रका नागरिक बिरामी पर्दा उपचार समेत नपाउने अवस्था अझै कायम रहेको छ । यस्तै भूकम्प, बाढी पहिरो तथा अन्य प्राकृतिक विपत्तिमा समेत घाइते, अशक्तको उद्धारका लागि पनि ठूलो समस्या भोग्नुपरेको छ ।
‘गोरखा भूकम्प’ को समयमा समेत उद्धारका लागि ठूलो समस्या परेको थियो । उद्धारको अभावमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपरेको थियो । राहत पुर्याउन समेत लामो समय लागेको थियो । सामान्य मानवीय सेवा पाउन समेत नागरिकले कयौ दिन पर्खनुपरेको थियो ।
यही बाध्यतालाई सकारात्म्क अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले ७५३ वटै स्थानीय निकायमध्ये सहज यातायाताको पहुँच नपुगेका स्थानमा हेलिप्याण्ड निर्माण गर्ने लक्ष्य अगाडि सारेको हो । साना हेलिकोप्टर अवतरण तथा उडानका लागि सामान्य स्थान भएपनि पुग्ने भएपनि ठूला तथा मझौला हेलिकोप्टरको उडान तथा अवतरणका लागि भने हेलिप्याड नै जरुरी पर्दछ ।
हेलिप्याण्ड निर्माणका लागि केही मापदण्ड र आधार हुने भएकाले त्यसमा समेत सहयोग गर्न तथा आवश्यक समन्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम गर्नेछ ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल हेलिप्याण्ड निर्माणका लागि केही प्राविधिक एवं नीतिगत विषय जरुरी हुने भएकाले त्यसमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताउछन् ।
उनले हेलिकोप्टर सेवा अत्यावश्यक सेवा भएकाले दुर्गम तथा सुगम सबै क्षेत्रमा हेलिप्याड जरुरी पर्ने भएकाले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषयलाई समावेश गरिएको उल्लेख गरे।
विमानस्थल निर्माणसम्बन्धी कार्यविधि तयार भएको र त्यसमा हेलिप्याडको मापदण्ड समेत स्पष्टरुपमा व्यवस्था भएकाले आवश्यक पर्दा प्राधिकरणले पनि सहयोग गर्ने उपमहानिर्देशक पोखरेलको भनाइ छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालको अधिकाशं हेलिकोप्टर उडान उद्धारका लागि नै हुने गरेको छ । हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सुगम स्थानमा ल्याउनका लागि हेलिकोप्टरको प्रयोग हुने गरेको छ ।
हेलिकोप्टर उडानमा लाग्ने महँगो शुल्कका कारण आम मानिसको पहुँचमा भने सहजै पुग्न भने सकेको छैन । पैसा हुनेले हेलिकोप्टर चार्टर गर्ने तथा नभएका भने त्यत्तिकै बस्नुपर्ने वाध्यता पनि रहेको छ । यस्तो अवस्थामा सरकारले आवश्यक सहजीकरण गरेर नागरिकको जिउ धनको रक्षा गर्नुपर्ने देखिन्छ । स्थानीय निकायले निर्धारण गर्ने स्थानमा हेलिप्याड बनाउन प्राधिकरणले सहजीकरण गर्ने उपमहानिर्देशक पोखरेलको भनाइ छ ।,
नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले सरकारको हरेक स्थानीय तहमा हेलिप्याण्ड निर्माण गर्ने भन्ने कार्यक्रम सकारात्मक एवं व्यवहारिक निर्णय भएको बताए ।
उनले बजेट वक्तव्यमा उल्लेख गरिएको उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबै निकायले सकारात्मक पहल गर्नु आवश्यक भएको स्पष्ट पारे।
नेपालमा हालसम्म पनि एयर एम्बुलेन्स सञ्चालनमा आउन सकेको छैन । बिरामी, आपतमा परेकालाई उद्धारका लागि एयर एम्बुलेन्स भएको खण्डमा सहज हुने देखिएको छ । विश्वका विभिन्न देशमा एयर एम्बुलेन्स सञ्चालनमा छन् । सरकारले क्रमशः सो योजना समेत लागू गर्ने तयारी गरिरहेको छ ।
प्राधिकरणकाअनुसार हाल मुलुकभित्र दश हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । त्यसमा सिम्रिक, मनाङ, श्री एयर, फिस्टेल एयर, हेली एभरेस्ट, एयर डाइनेस्टी, कैलाश, माउण्टेन हेलिकोप्टर, अल्टिच्यूड हेलिकोप्टर र प्रभु हेलिकोप्टर रहेका छन् ।
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने सरकारको योजना सकारात्मक र स्वागतयोग्य रहेको बताए । उनले हेलिप्याड बनाउँदा एमआई १७ जस्ता ठूला हेलिकोप्टर सहजरुपमा उडान तथा अवतरण गर्न सक्ने खालका हेलिप्याण्ड बनाउन सुझाव दिए । सामान्यताः ठूला हेलिकोप्टर अवतरण तथा उडानका लागि कम्तीमा ५०-५० मिटरको स्थान आवश्यक पर्दछ ।
हेलिप्याड नहुँदा भूकम्पको समयमा उत्तरी गोरखा, धादिङ, रसुवालगायतका जिल्लामा असाध्यै समस्या परेको स्मरण गर्दै उहाँले सरकारको उक्त कार्यक्रम कार्यान्वयनका लागि आफूहरू समेत सहयोगी बन्ने प्रतिबद्धता जनाए ।
हेली एभरेष्टका व्यवस्थापक प्रदीप गौतम पनि प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने विषय सकारात्मक र सह्रानीय रहेको बताउछन् । हेलिप्याड बनेको खण्डमा दुर्घटनाको जोखिम समेत कम हुने, उद्धार तथा राहतका लागि समेत सहज हुने उनको भनाइ छ ।
अर्का हेलिकोप्टर सेवा प्रदायक कैलाश हेलिकोप्टरका निर्देशक श्रीहरि कुइकेल पनि आफूहरूको माग गरे जस्तै सरकारले बजेटमा हेलिप्याड निर्माणको कार्यक्रम समावेश गरेकोमा खुसी व्यक्त गर्छन् । उनले भने, “तोकिएको स्थानमा हेलिप्याड भए उडान तथा अवतरणमा सहजता हुन्छ । वातावरणीय रुपमा समेत कुनै समस्या पर्दैन ।”
केही राष्ट्रिय निकुञ्जमा हेलिकोप्टर उडाउँदा शुल्क समेत तिर्नुपरिरहेको सन्दर्भमा हेलिप्याड भए आफूहरूलाई समेत थप सजिलो हुने उनको भनाइ छ । रासस