अहिले सरकारमा जानु भनेको आफ्नो अधिकारका मुद्दा छोडे सरह हो : भट्टराई
प्रकाशित २०७५ जेठ १९ शनिबार
287
Shares
पोखरा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताएका छन् ।
नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको शनिवार पोखरामा उद्घाटन गर्दै उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र कसैको दयामाया नभई विभिन्न आन्दोलनको बलबाट प्राप्त भएको बताए ।
नेपालको सन्दर्भमा अधिकांश नेताहरू सत्तामा गएपछि गुलियोमा लट्पटिएर जनताप्रति गरेका प्रतिबद्धता बिर्सने र विभिन्न कुतर्क गरेर आफ्नो सत्ता लोलुपता ढाकछोप गर्ने गरेको उनले उल्लेख गरे। बैंक मर्जर गरेजस्तै दुई ठूला पार्टी एक भएर अन्य पार्टीलाई सरकारमा सामेल गरेपनि सहमति कार्यान्वयन नहुने ठोकुवा गर्दै उनले यतिखेर सरकारमा जानु भनेको आफ्नोअधिकारका मुद्दा छोडेको सरह हो भने।
कार्यक्रममा उनले तमु राष्ट्रिय परिषद् नेपालको घोषणापत्र र विधान सार्वजनिक गरेका थिए । दुई दिने उक्त भेलामा मुलुकका विभिन्न जिल्लाबाट चारसयभन्दा बढी प्रतिनिधिले भाग लिने तमु राष्ट्रिय परिषद नेपालका अध्यक्ष विनोदकुमार गुरुङले जानकारी दिए ।