arrow

अनियमितता छानबिनको लागि सतर्कता केन्द्र वीर अस्पतालमा

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
bir-hospital.jpg.jpeg

काठमाडौं । व्यापक आर्थिक अनियमितता भएको गुनासो आएपछि राष्ट्रिय सतर्कता केन्द्रको टोली अनुसन्धानको लागि वीर अस्पताल पुगेको छ । धुर्मुस–सुन्तली, महजोडी लगायतका चर्चित कलाकारहरुले निस्वार्थ भावनासहित अस्पताल सरसफाइ गरेको केही समयमा नै वीर अस्पतालमा सतर्कता केन्द्रले अनुसन्धान सुरु गरेको हो ।

अस्पतालमा बाहिरी मानिसहरु गएर अस्पतालको सरसफाइ गरे पनि विभिन्न संघसंस्था र व्यक्तिहरुसँग सहयोग लिएर काम नगर्ने एक समुहको विरुद्धमा परेको उजुरीको विषयमा छानबिनको लागि सतर्कता केन्द्रले अनुसन्धान थालेको हो ।

वीर अस्पतालमा विगतमा आफैले टेण्डर र कोटेशनमा करोडौ कमिसन खाएका समुहले धुर्मुस समुहले सित्तैमा सरसफाई र रङ्ग रोगन गर्ने भएपछि उनीहरुलाई पनि असहयोग गरेको उजुरी पनि परेको छ । अस्पतालका विभिन्न सामग्रीहरु खरिदमा व्यापक आर्थिक अनियमितता गरी अस्पताललाई कमजोर बनाउने मामिलामा अस्पतालका केही कर्मचारीहरु रहेको गुनासो विभिन्न सरकारी निकायहरुमा पुगेको थियो ।

साथै यो समुहले वीर अस्पतालको भ्रष्टाचारको विषयमा विरोध गर्नेलाई सरुवा गर्ने तथा गुण्डा लगाएर धम्क्याउने काम पनि गर्दै आएको उजुरीहरुमा पाइएको हो। अस्पतालको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा पनि उजुरी परेको थियो ।

अस्पतालमा परेको उजुरीहरुमा स्टाफ नर्स, कर्मचारी नियुक्तिलगायतका विषयमा आफ्ना मानिसहरुलाई प्रक्रिया मिचेर नियुक्ति दिइएको, भूकम्पको समयमा एक सय गुणा महँगो सामग्री खरिद गरेकोदेखि ६० करोडमा किनिएको सामग्रीमा करिब ४५ करोड भ्रष्टाचार भएकोसम्मका उजुरीहरु रहेका छन् ।

अहिलेसम्म अस्पतालको विषयमा परेका उजुरीहरुमा आर्थिक अनियमितताको लागि दुई करोडको टेण्डरलाई रोकी पाँच करोडको टेण्डरलाई मेसिन किन्ने अनुमति दिएको कुरा पनि उल्लेख गरिएको छ । ट्रमा सेन्टर पनि अदालतको आदेशअनुसार सुलभ नबनाएको र यहाँ तीन सयभन्दा बढी अनियमित कर्मचारीहरु भर्ना गरिएको भन्दै उजुरीहरु परेका छन् ।

केही दिनमा वीर अस्पतालमा एक सभा बस्ने भएको छ र सो सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा दिइएको छ। यस विषयमा अस्पतालमा केही कर्मचारीहरुले आवाज उठाउने भएका छन् । साथै सो सभामा धुर्मुस सुन्तलीलाई पनि आउनका लागि आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ