अब सिंहदरबार फ्रुट गार्डेन ! : ओलीले लिची र एभोकार्ड रोप्दै
सन्दर्भ : विश्व वातावरण दिवस
प्रकाशित २०७५ जेठ २२ मंगलबार
719
Shares
काठमाडाैँ । प्रकृति र मानव सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण कायम राख्न मंगलबारबाट नेपाल स्वच्छ वातावरण महाअभियान सुरु हुँदै छ । यो महाअभियान ललितपुरको जावलाखेलबाट सुरु हुन लागेकाे हाे ।
विश्व वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले वातावरण संरक्षणका लागि सरकारले अघि सारेको सम्वृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार पार्न सपथ स्वरुप प्रतिवद्धता गराउने छन् ।
प्रधानमन्त्रीले जावलाखेलबाट देशवासीलाई नै सपथ गराउने कार्यक्रम छ । यो वर्षभरी चल्ने महाअभियानमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने वातावरण मन्त्रालयलले जनाएको छ । अभियानका क्रममा सिंहदरबारलाई फलफूलको बगैँचा (फ्रुट गार्डेन) बनाइने भएको छ । दिउँसो प्रधानमन्त्रीले एक नेपाली एक फलफूलको बोट अभियानको शुभारम्भ गर्ने छन् । प्रधानमन्त्रीले लिची र अभोकाडएका दुई विरुवा रोपेर सिंहदरबारलाई फलफूलको बगैँचा निर्माण अभियानको सुभारम्भ गर्न लागेका हुन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ राखिएको छ ।