काठमाडौ । ललितपुरको युएन पार्कमा महानगरीय प्रहरी अपराध महाशाखाले गोली चलाएको छ । सोमबार दिउँसो एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार हप्ता असुली तथा गुण्डागर्दीमा संलग्न अशोक लामालाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको हो ।
ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएका थिए । उनको कर्तुत प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गर्न खोजिएको हो ।
युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको प्रहरीले बताएका छ। लामाको दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेको छ । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ ।