राम धामी, डडेल्धुरा। दशै विदा सकिएर सञ्चालनमा आएका जिल्लास्थित सरकारी कार्यालयमा कार्यालय प्रमुख र कर्मचारी उपस्थित नहुँदा अझै सुनसान कायमै छ । कर्मचारी अभावमा कतिपय कार्यालय बन्द अवस्थामा छन् भने सिमित कर्मचारीले सञ्चालन गरेका कार्यालयहरुमा समेत कामकाज नँहुदा सेवाग्राही मार्कामा छन् ।
दशैं सकिएपछि आइतबार देखि सञ्चालित अधिकांस कार्यालयका प्रमुख र कर्मचारी अझै आइ पुगेका छैनन् । कार्यालय खुले पनि दसैं विदामा घर गएका सरकारी कर्मचारी नआउँदा अधिकांस कार्यालय कार्यसम्पादन प्रभावित भएको छ भने कर्मचारी अभावमा यातायात व्यवस्था कार्यालय र जिल्ला खेलकुद विकास समितिको कार्यालय बन्द अवस्थामा छन् ।
“जिल्लाका अधिकांश सरकारी कार्यालय सुनसान देखिएका छन् ।” स्थानीय हरिश बोहराले भने, “कार्यालय खुलेका भएपनि कार्यालय प्रमुख र फाँटवाला कर्मचारीनै नभएपछि कामकाज ठप्प छ । जसबाट काम लिएर ग्रामीण क्षेत्रबाट आएका सेवाग्राही समस्यामा छन् ।”
जिल्ला जिल्ला विकास समितिको कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, अमरगढी नगरपालीका, जिल्ला अदालत, जिल्ला वन कार्यालय, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय र सुदूरपश्चिम सिँचाई सव डिभिजन लगायतका सेवाग्राहीहरुको भिडभाड लाग्ने सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु अझै आएका छैनन् ।
दसैंको विदा शुरु हुनु भन्दा ३ देखि ५ दिन पहिले विदामा घर गएका जिल्लाका कार्यालय प्रमुख तथा अन्य कर्मचारी कार्यालयमा नआँउदा ग्रामिण क्षेत्रवाट आएका सेवाग्राहीहरु रित्तै हात फर्किनु परिरहेको छ । कार्यालय प्रमुख कहिले आउँछन् सोका बारेमा आफूहरुलाई कुनै पनि जानकारी नभएको कार्यालयमा रहेका सहयोगीले बताउने गरेको सेवाग्राहीहरुको गुनासो छ । भारतले लगाएको अघोषित नाकावन्दीले इन्धनको संकटको अवस्थामा कार्यालय सञ्चालन भएपनि कर्मचारी कार्यालयमा नआउँदा सेवाग्राही थप मार्कामा पर्ने गरेका छन् ।
डडेल्धुरासँगै सुदूरपश्चिम क्षेत्रका अन्य पहाडी जिल्लाहरुमा समेत सरकारी कार्यालय सुनसान रहेको स्थानीयले जनाएका छन् । नयाँ आर्थिक बर्ष शुरु भएपछि साउन र भदौभरि अधिकांस कार्यालय प्रमुख समिक्षा गोष्ठी र राजधानी केन्द्रित कार्यक्रममा सहभागी हुने नाममा कार्यालयमा हाजिर हुदैनन् भने असोज कार्तिकमा दशैं बिदा शुरु हुनुपुर्वनै जिल्ला छाडने र तिहार सकिए पछि मात्रै फर्किने परम्परा जस्तै छ ।
छडके जाँचका क्रमममा ७ कार्यालय प्रमुख सहित ७८ कर्मचारी गयल
सेवाग्राहीको व्यापक गुनासो पछि बुधबार जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित सरकारी कार्यालयहरुमा छडके जाँच गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी नेतृत्वको टोलीले छडके जाँचका क्रममा ७ कार्यालय प्रमुख सहित ७८ जना कर्मचारीहरु गयल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा यातायात व्यवस्था सम्पर्क कार्यालय र जिल्ला खेलकुद विकास समितिको कार्यालय बन्द अवस्थामा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अवस्थीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका प्रमुख दिनेश सापकोटाले भने नियम विपरित दुई साता भन्दा बढिको काज लिएको पाइएको छ । “एक हप्ता भन्दा बढि काज लिदा माथिल्लो निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ ।” प्रमुख जिल्ला अधिकारी प्रेमराज लुइटेलले भने, “सो सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखलाई स्पष्टीकरण सोधिने छ ।”
कार्यालयमा बिना कारण अनुपस्थित भएका र कार्यालयनै बन्द रहेको अवस्थाका बारेमा समेत स्पष्टीकरण सोधिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।