arrow

डा गोविन्द केसीको आलोचकबाट यसकारण भए म समर्थक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ असार २८ बिहिबार
kusum-bhattarai-bibeksil.jpg

काठमाडौं। हिजोसम्म मैले डा गोविन्द केसीको अनसनको धुवाँधार विरोध गर्दै आएको थिएँ। आलोचनाका सारा शब्दहरु रित्याएँ। बिहिवार दिउँसो एउटा अदभूत घटना भयो । म काम विशेषले बालुवाटारको बाटो हुँदै महाराजगंजतिर गइरहेको थिएँ, प्रधानमन्त्री निवासको कम्पाउण्डबाहिर सडकमा दर्जनौं चिकित्सकहरुको जुलुस आयो, जो डा केसीको अनसनको समर्थन गर्दै मेडिकल माफीयाको अन्त्यको नारा लगाइरहेका थिए ।

रमिता हेरौं न त भनेर म टक्क रोकिएँ । प्रहरीहरु व्यापक मात्रामा तैनाथ थिए । ति हरेक चिकित्सकहरुको मुहारमा नियालें, जसमा युवा जोश थियो र निर्दोषिता झल्कीन्थ्यो । दलहरुको आमसभामा दैनिक ज्याला दिएर ट्रकमा खाँदेर ल्याइएका मानिसजस्ता ति देखिदैनथे, बरु स्वस्फूर्त रुपमा उनीहरु त्यहाँ आएका देखिन्थे।

पढेलेखेका ति आधुनिक युगका चिकित्सकहरु डा केसीको अनसन जायज नाजायज छुटयाउन सक्ने सामर्थ्य राख्छन् भन्ने मलाई लाग्यो । उनीहरु दलका कार्यकर्ता झैं दल या अमुक नेता या गुटको लकिरको फकीर हैनन्, बरु ति आफ्नो विवेकले उत्प्रेरीत भएर त्यहाँ आएको हुन् भन्ने सानो झिल्को मेरो दिमागमा पनि बल्यो । चिकित्सकहरुका साथै विभिन्न सँस्थाबाट ऐक्यबद्धता जनाउन आएका मानिसहरु पनि त्यहाँ थिए । उनीहरु प्रधानमन्त्री केपी ओलीलाई मार्सी चामल हस्तान्तरण गर्न बालुवाटार आएका रहेछन् । 

Image may contain: one or more people, crowd and outdoor

मैले देखें, अली पर त्यहाँ ऐक्यबद्धता जनाउन विवेकशील साझा पार्टीका नेता उज्जल थापाजी र पत्रकार मित्र प्रकाशचन्द्र परियारजी पनि आउनु भएको रहेछ । खै कुन उत्प्रेरणाले हो, म पनि सरासर उहाँहरुकै छेउमा गएँ र डा केसीको अनसनप्रति ऐक्यबद्धता जनाएँ ।

मेरो मन, विचार या आग्रहभन्दा माथि सायद मेरो अन्तर आत्माले मलाई त्यहाँ लगेको हुनसक्छ । जब आत्माले चाहन्छ, तब मन र विचार साइड लाग्दोरहेछ । सायद, आवेग, आग्रह र उत्तेजित विचार कम्पनबाट मुक्त भएर मेरो ब्रम्हले, विवेकले आज सही काम गरेको हो की भन्ने मलाई कताकता आभास भइरहेको छ । र, मन हलुका पनि भएको छ ।

डा केसीको अनसनलाई मेडिकल माफीयाको विरोधमा मात्र सिमित नगरी यसलाई सामाजिक, राजनीतिक, आर्थिक र साँस्कारीक रुपान्तरणको नयाँ पुस्ताको नौलो अभियानका रुपमा विकास गर्न सकिन्छ कि भन्ने झिनो आशा पनि पलाएको छ । अभिव्यक्ति स्वतन्त्रता, लोक कल्याणकारी र सामाजिक न्यायमुलक राज्यको स्थापनाका लागि राजनीतिक नेतृत्व पंगु भइरहेको बेला मलाई लाग्यो, अब यस्तै स्वस्फुर्त, स्वतन्त्र र न्यायप्रेमी जनताको तहबाट अभियान थाल्नु जरुरी भइसकेको छ ।

अतः आजबाट म पनि डा केसीको अभियानको समर्थक ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ