काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले एउटै दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
दुर्घटनापछि बनेपा बजार तनाव ग्रस्त बन्यो । बा २ क ३९३४ नम्बरको टिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाईकलमा सवार नमोबुद्ध नगरपालिका खनालचोकका ५७ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगो लगाईदिए । आक्रोशित त्यही भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत तोडफोड गरेको छ । प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो ।
प्रहरीले टिपर, त्यसका चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय सुधन श्रेष्ठसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । टिपरले मोटरसाईकल र स्कुटरलाई ठक्कर दिएका घटना लगातार घट्न थालेपछि काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन रोक लगाईएको छ । अहिले बेलुका ८ बजे पछि मात्रै टिपर चलाउन भनिएको छ । उपत्यकाको टिपर आतंक काभ्रे पुगेकोमा स्थानीयहरु आक्रोशित भएका छन् ।