arrow

सत्याग्रही डाक्टर गोविन्द केसीको पक्षमा

logo
डा राजन किशोरी केसी,
प्रकाशित २०७५ साउन ७ सोमबार
dr-govinda-kc-dr-rajan-kumari-kc.jpg

चीन। केहि सयम पहिला देश ३३ किलो सुन काण्डले तातेको थियो भने अहिले  फेरि देशमा मार्सी चामल, डा गोविन्द केसीको अनसन र मेडिकल कलेज सम्बन्धको दह्रो बहसमा छ। यिनै बिषय राष्ट्रिय मुद्दा बनेका छन्।

डा गोविन्द केसीसँग मेरो  कुनै व्यक्तिगत सम्बन्ध छैन, उनलाई मैले अहिलेसम्म प्रत्यक्ष देखेको पनि छैन, भेटेको पनि छैन र बोलेको पनि छैन। तर मैले यिनलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका माध्यमबाट चिन्ने र जान्ने मौका पाए। र  यिनको त्याग, तपस्या र साधनाले भरिपुर्ण भएको सरल र साधारण जीवनबाट झनै प्रभाबित् भए ।

डा गोविन्द केसी एक सन्त हुन्। उनले आफ्नो व्यक्तिगत स्वार्थ र लोभ लालचमा नफसी समग्र देश र जनताकोलागि चिकित्सा शिक्षालाई सर्बसुलभ, गुणस्तरिय साथै सामान्य नागरिकका छोराछोरीले पनि शिक्षा स्वास्थ्य प्राप्त गर्न सकुन भनेर माग उठाउदै आएका छन्। उनि यस्ता निष्ठावान व्यक्ति हुन् जसले आफ्नो ज्यान जोखिममा राखेर राष्ट्र र जनताको लागि बारम्बार अनसन बसिराखेका छन्। देशमा होस् या बिदेशमा उनी ठुला प्राकृतिक प्रकोप परेको सुन्नासाथ उनले आफ्नो पैसाले औषधि गरि मानविय सेवा गर्न कुदि हाल्छन्।

सरकारले पछिल्लो समयमा संसदमा पेश भएको चिकित्सा शिक्षा सम्बन्धि विधयेकमा आफूसँग भएको सहमती तथा माथेमा कार्यदलको प्रतिबेदन अनुसार प्रतिबद्ता नआएको र त्यसलाई कार्यान्वयन पनि गर्ने छाँट नदेख्दा उनि सरकारलाई दबाब दिन १५ औं आमरण अनसन बसिरहेका छन्। चिकित्सा शिक्षा अध्यादेशमा गरिएको व्यवस्था नफेरी विधयेक ल्याउनुपर्ने लगायतका माग राखेका डा केसीलाई जुम्लाको अस्पतालबाट सरकारले नियोजित गलत प्रचार र अपरहणको शैलिमा बल प्रयोग गरेर अन्तरास्ट्रिय कानुन विपरित अमानविय, अमर्यादित र अशोभनीय तरिकाले काठमाडौं ल्याएको कुराले देश तथा बिदेशमा ओली सरकारको सर्बत्र आलोचना भएको छ। यहासम्म आइपुग्दा उनले उठाएका मुद्दाको सम्बोधन हुनुपर्ने हो तर यो त दीर्घकालिन समस्या बन्दै गएको छ।   

डा बाबुराम भट्टराईको पालादेखि पटक पटक अनसन बस्दै प्रधानमन्त्री केपी ओलीसम्म आईपुग्दा पनि उनले उठाएको मुद्दाहरुमा सरकारले त्यति चासो देखाएको पाईदैन। डा केसीले काठमाडौँमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाईने, एउटा बिश्वबिध्यालयले ५ वटा भन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने, तीन वर्ष अस्पताल संचालन नगरी मेडिकल कलेज खोल्न नपाइने, राष्ट्रिय चिकित्सा ऐन जारी गर्ने जस्ता प्रमुख मागहरु उठाउदै आएका छन् ।

डा केसी आम मानिसको नजरमा आदर्श अनि निष्ठावान व्यक्ति हुन्। उनी परोपकारी भावना भएका लोककल्याणका लागि जीवन समर्पित गर्न सक्ने एक सेवाभावका प्रतिमूर्ति हुन्। उनी यस्ता योद्धा हुन् जसले भ्रस्टाचार, माफियातन्त्र, ब्यापारीकरण र राजनीतिक हस्तक्षेप विरुद्ध निरन्तर लडिरहेका र आवाज उठाइरहेका छन्। ६ बर्षको अबधिमा १५औ पटक अनसन बसिराख्दा डा केसीलाई चिकित्सा क्षेत्रमा आबद्द मानिस, नागरिक समाज, विभिन्न पेशाकर्मी, मानवअधिकारबादी, संचार जगतको ठूलो साथ र समर्थन हुँदै आएको छ। घतलाग्दो कुरा के छ भने उनले उठाएका कुराहरुलाई केहि राजनीति दलहरुले मुख्य एजेण्ड बनाएका छन्, राजनीतिकरण पनि गरेका छन्। जब उनि अनसन बस्दा प्रतिपक्षमा रहेका राजनीति दलहरुले समर्थन गर्ने अनि सरकारमा हुँदा फेरि बिरोध गर्ने गरिरहेका छन्।

डा केसी एक सत्याग्रही हुन्। उनले गरेको शान्तिपूर्ण  विरोधलाई ओली सरकारले सम्बोधन गर्नु आवश्यक देखिन्छ। र अनसन तत्काल तोड्नका निम्ति उनले उठाएका महत्त्वपूर्ण मुद्दाहरु र पहिला उनीसँग पटक पटक भएर पनि भंग गरिएका समझदारीप्रति सरकारले सकारात्मक कदम चाल्नु पर्दछ।आशा गरौ डा केसीले उठाएका जनसरोकारका मागहरु कुनै स्वार्थ समुहको प्रभावमा नपरि ओली सरकारले यथासिघ्र सम्बोधन गर्ने छ।

(लेखक डा केसी चीनमा प्रसुति तथा स्त्री रोग सम्वन्धी विशेषज्ञ शिक्षा अध्यनरत छिन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ