तरुण दल दोलखाका उपाध्यक्ष तामाङ माथि भएको थियो ज्यान लिने प्रयास
प्रकाशित २०७५ साउन २३ बुधबार
254
Shares
काठमाडौं। सुतेकै ठाउँमा खुकुरी प्रहार भएर गम्भिर घाइते भएका नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। तामाङको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले घाइते तामाङलाई ट्रमा सेन्टरमै गइ भेटेका छन्। उनले घटना निन्दनीय रहेको र दोषीलाई कार्वाही गराउन सिङ्गो काँग्रेस पार्टी नै लाग्ने बताए। उनले दाेषीलाई कडा भन्दा कडा कारबाही गर्न प्रसासनलाई दवाव दिने बताए।
अस्पतालमा दोलखाकै महासमिति सदस्य तथा नेविसंघका महामन्त्री कुन्दन काफ्ले लगायतका स्थानिय नेताहरु पनि थिए।
साउन १९ गते सुतेकै ठाउँमा तामाङमाथि सांघातिक आक्रमण भएको थियो। तामाङमाथि धारिलो हतियार प्रयोग गरि शरीरका विभिन्न भागमा आक्रमण भएको हो। उनको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लागेको थियो भने अनुहारमा पनि खुकुरी प्रहारबाट चोट लागेको थियो।
नेपाल तरुण दलले घटनामा संलग्न केसीलाई ज्यान मार्ने उद्योग अन्तर्गत कडा कार्वाहीको माग गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आक्रमणकारीलाई कसैको दवावमा परि उन्मुक्ती दिने प्रयास भए त्यो आफूहरुले प्रतिवाद गर्ने बताए। स्थानिय प्रहरीले दोषीलाई कानुनी दायरामा लिइसकेको र कानुनी कार्वाही शुरु गर्ने बताएको छ।