arrow

‘उल्का’ मन्दिरको लाईन

logo
सुदर्शन खनाल,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
sudarsan-khanal.png

सानै केटाकेटी अवस्थामा चकचक गर्दा ठूलाबडाले तलाई ‘उल्का’ भन्नुहुन्यो। खासमा चकचक गर्ने, बिठ्याई गर्ने आदिलाई गाउँघरमा ‘उल्का’ भनिन्थ्यो। हामीलाई खासै वास्ता हुन्थेन। हाम्रो घरतिर अर्को ‘उल्का’ मन्दिर चाहीँ बेस्सरी प्रख्यात थियो। खासगरी दशैंको बेलामा घरघरबाट मन्दिरमा धुप,धजा,फुल अक्षता चढाउने परम्परा छ। सके प्रत्यक घरको एकएक जना जाने नसके जानेकोे हातबाट पठाउने एउटा अटुट आस्था रहिआएको छ। म यसभन्दा अगाडी दुईपटक यो मन्दिरमा आएको छु। एक पटक बच्चैमा बुबासँग, अर्कोपटक साथीभाईसँग। दुबै सामान्य नै रह्यो। यसपटक भने भोकै आएका हामीहरूलाई गाडी र मोटरसाईकलले राम्रै धुलो खुवायो । पहिले पहिले धेरैजसो पैदल आउँथे,आजकल सवारी साधन लिएर आउँछन्। टाढा टाढाबाट आएका मानिसहरू,दशैंमा पुरानो घर सम्झेर आएकाहरू,नयाँ पुरानाहरू विशेष किसिमको चहलपहल देखिन्थ्यो,त्यसै विशेषमा हामी पनि मिसियौं। 

हाम्रोतिर कुनै मेला पर्वमा त्यसै दिनलाई मध्यनजर गरेर खुला चउरमा पसल थापिन्छ। जेरी, गजा,पकौडा,चटपटे आदि किनेर खान पाईन्छ। भीडसँगै गेटनजिकै पुग्दा त्यहाँ पकाएको गजालाई नाकले चिनिहाल्यो,सायद पुरानै स्वादमा थियो त्यसैले होला। मैदालाई मिठाई आकार दिएपछी तेलमा पकाई चिनिको चास्निमा राखेर यो तयार गरिन्छ। पहिलो पटक यसै मन्दिरमा आउँदा खाएको गजा त्यो पनि बुबाले पुजा र पाठ नगरी खान हुँदैन भन्नु भएको थियो। मन्दिरको दर्शन नगरून्जेल केही नखाई भोकै भगवानलाई आफुले ल्याएको फुल प्रसाद अर्पण गरेपछी मात्रै खाने चलन थियो त्यो अझै पनि छ। मैले चाहीँ बुबाले पाठ गर्न बसेपछी तीन रूपैयाँमा खुसुक्क किनेर खाएको थिए। संसारमा यति मिठो चिज बनेकै छैन भन्ने मेरो गजा अनुभुती अहिलेसम्म ताजै छ।

मन्दिरको गेटमा पुग्यौं जुत्ता खोल्नुपर्ने रहेछ। अस्ती तोमलाल भाईले पालुखाको महायज्ञबाट फर्कदा खाली खुट्टा कोठामा आएको प्रसंङ्ग सुनाएका थिए, ठ्याक्कै याद आयो। अरूले राखेको भन्दा अलि पर राख्यौं र लाईनमा बस्यौं। एउटा महिला र अर्को पुरूषको लाईन थियो। लाईन बडो विचित्रको थियो पटक्कै अगाडी नसर्ने। त्यतिकैमा लाईनको बिचबिचबाट आवाज आउँथ्यो ‘घुस्न पाईदैन,घुस्न पाईदैन ’।

हामीभन्दा अगाडिदेखी नै लाईनमा थुप्रै मानिसहरू थिए सबैको एउटै पिडा थियो, त्यही पिडामा हामी पनि मिसिएका थियौं।लाईनबाट अगाडीको मन्दिर प्रष्टसँग देखिन्थ्यो। हाम्रो चल्तीका प्यागोडा शैलीका मन्दिरभन्दा फरक नेपाली पहाडिया घरको आकारमा बनेको थियो ‘छत्र महाराजको मन्दिर उलुक अर्घाखाँची’ लेखेको थियो। त्यसपछी बल्ल थाहा भो ‘उल्का’को अर्थ। यो त ठाउँको नाम रहेछ। हामी सोच्थ्यौं ‘उल्का’ भन्ने कुनै देवीको नाम होला भनेर तर आजबाट यो भ्रम हट्यो।

छत्रदेवको मन्दिर महाभारतकालिन युद्वसँग जोडिएको छ। करिब पाँच हजार वर्षअघि कुरूक्षेत्रको महाभारत लडाईमा युद्व अवलोकन गर्न आएका छत्र महाराजाको शिर भगवान श्रीकृष्णबाट क्षेदन भएपछी पहाडी खण्डको यस क्षेत्रमा बस्ने चाहना भएबमोजिम भगवान श्रीकृष्णले उलुक छत्र महाराजको मन्दिर स्थापना गरेको किंवदन्ती छ। हाल यो मन्दिर शक्तिपिठको रूपमा स्थापित छ।

मन्दिर पहिलेभन्दा धेरै विकसित देखिन्थ्यो। वरीपरी सिमेन्टको पर्खाल उठाईएको, हिड्ने बाटो राम्रोसँग बनेको, वरीपरिका रूखहरू पनि राम्रोसँग सजाईएको जे होस राम्रो देखिन्थ्यो। गुल्मीको सदरमुकाम तम्घासबाट जाने र अर्घाखाँचीको सन्धिखर्कबाट आउने सडकलाई पक्की बनाउन सकेमा आगामी दिनमा यस क्षेत्रको अझै उन्नती हुने छ। त्यतिकैमा,मेरो अगाडी उभिएका अपरिचित मित्रलाई उनका पनि मित्र आएर भने “ए लाईनमा उभिएको? म त घुसेर अगाडी गएर पुजा गरेर आए तिमीपनि यताबाट जाउ भन्दै बाटो समेत देखाए” त्यतिकैमा जवाफ फर्काउँदै मित्रले भने “जाम भने त म पनि सक्छु,मेरा मान्छे पनि छन् तर लाईन बसिहाले पालो पनि आउन लाग्यो भो” त्यसपछी उनी ल आउनु है भन्दै हिडे।

बुबाले मलाई उ बेला एउटा अर्को प्रसंङ्ग सुनाउनुभएको थियो “यहाँ त जेठा राँगा, माईला राँगा, भेडा कुखुरा आदिलाई वली दिईन्छ” मैले बुवालाई सोधेको थिए किन भनेर ? बुवाले भन्नुभो “परम्परा हो” । त्यो बेला मेरो बाल मस्तिष्कले जिज्ञासु भएरै सोधे होला ? “भगवानले पनि मासु खान्छन् र ? “यो भगवानलाई होईन यो त उनीहरूका बाहनलाई चढाएको हो,दुर्गाको बाहन सिंह हो, सिंहले मासुवाहेक अरू खादैन त्यै भएर हो”  बुबाले उत्तर दिनुभएको थियो। त्यतिकैमा बिचबाट एउटा सानो पाडो भैंसीको बच्चा दुईजनाले पछाडीबाट धकेल्दै एकजनाले अगाडीबाट तान्दै घिसार्दै अगाडी लगे,विचरा त्सलाई पुर्बाभास थियो वा अरू केही ? जान मानेको थिएन। हाम्रो सभ्यताले “अहिंसा परमो धर्म” भनेको छ। परम्पराको नाउँमा गरिने हिंसालाई प्रसय नदिएकै भए राम्रो हुने थियो। अर्कोतर्फ महिलाहरूको लाईनमा एउटा फुच्चे थियो आमासँग मन्दिर आएको । भाकल गरेर ल्याएको कुखुराको भाले च्याप्प समातेको। चन्चल र फुरङ्ग देखिन्थ्यो, दशैं आएर होला ? हामीलाई पनि आजकाल दशैं पहिलाको जस्तो लाग्दैन, केटाकेटी हुन नपाएर होला सायद। दशैंको मजा केटाकेटी अवस्थामै हुन्छ। सबैभन्दा तनावको विषय स्कुल विदा हुने,जती खेलेपनि कसैले गाली नगर्ने,नयाँ लुगा लगाउन पाईने,अलिअली दक्षिणा पनि पाईने। बालापनको दशैंजस्तो पछि कहिल्यै हुँदैन। त्यही छापले गर्दा पनि होला यो चाडको यति ठूलो महिमा।

लाईन व्यबस्थापन गर्न स्वयंसेवक पनि थिए। लाईन मिच्नेहरूलाई धपाउँथे। तर चिनेको आउनसाथ छोडिदिन्थे। दशैंको बेलामा धेरै ठाउँ बाँडीनु परेकोले होला प्रहरी जम्मा दुई जना मात्र देखिन्थे, उनीहरूको पनि केही जोर चल्दैनथ्यो। “नेपाल बिग्रेको यस्तै भएर हो” “केही सिष्टम नै छैन” लाईनमा बस्दा दिक्क भएकाहरू बेलाबेलामा यस्तै यस्तै आवाज निकालिरहेका थिए।
मन्दिर वरिपरिको वातावरणले मान्छेको भगवानप्रतिको आस्थालाई राम्रैसँग दर्शाउँथ्यो। सबैलाई कसरी छिटो दर्शन गरौं भन्ने थियो।गाउँभरिको अली अग्लो डाँडामा अवस्थित भएर होला कुनै एउटा मोवाईल कम्पनीको टावर मन्दिर परिसरभित्र थियो। भगवानको नजिकै भएर पनि भगवानसँग कुरा गराउन सक्दैनथ्यो यदि सक्ने भए हामी लाईनमा बसेर पट्यार लागेकाहरू, हतार हतार गर्दै लाईन मिच्दै दर्शन गरेकाहरू सबैले फोन गरेरै दर्शन गर्थ्यौ होला भगवानलाई।

केही कोट लगाएका अलि ठूलाबडाजस्ता देखिनेहरू मन्दिरको बारेमा गफ गर्दै वरपर गरेका देखिन्थे। मन्दिर यस्तो बनाउन पाए हुन्थ्यो उस्तो बनाउन पाए हुन्थ्यो भन्थे। मन्दिरको उन्नती प्रगतीका लागी उनीहरूको चिन्ता प्रष्ट देखिन्थ्यो। सन्धिखर्क भन्दा केही पर अर्को आस्थाको केन्द्र सुपादेउराली मन्दिर छ। दैनिक सयौं धर्मालम्बीहरू आउँछन्। सुपादेउराली वरपर छुट्टै रौनक छ। मानिसहरूको चहलपहल, व्यापार व्यवसाय फस्टाएका छन्। यता तम्घासको नजिक तपोभूमि रेसुङ्गा छ। रेसुङ्गा, छत्रदेव र सुपादेउरालीलाई जोड्न सकेमा यस क्षेत्रकै भविष्य उज्वल हुने थियो त्यसका लागी यो मन्दिर सेतु बन्नसक्ने प्रवल सम्भावना छ।

मन्दिर परिसरको एउटा छेउँमा गाउँघरे प्रविधिमा एउटा आरनलाई रसीले बाँधेर तान्दै घुमाउँदै मन्दिरका खुँडा, खुकुरी,तरवार आदि हतियारलाई ‘रेती’लगाईदै थियो। अर्कोतर्फ नौमती,पञ्चेबाजालाई भुईमा बिसाएर बसेका दाजुभाई थिए,बाजा बजाउँदा थाकेर होला। आरन लगाउनेहरू,भाँडा बनाउनेहरू,बाजा बजाउनेहरूलाई मैले सानैदेखी देखेको छु। सबै शिल्पीहरू तर ईतिहाँसबाट बिभेद गरिएका। हिजोका दिनमा घरमा मात्रै होईन,बिद्यालय,मन्दिर अन्य सामाजिक स्थानमा दलित समुदायलाई उपेक्षित गरिन्थ्यो। आजपनि केही हदसम्म त्यो कुसंस्कार कायमै छ। तर यहाँ को बाहुन, को क्षेत्री,को जनजाती,को दलित कसैप्रति भेदभाव थिएन भगवान सबैका प्यारा थिए अनि सबै भगवानका प्यारा। सामाजिक क्षेत्रमा आएको यो सकारात्मक चेतनाको परिवर्तनले हाम्रो सामाजिक सद्भाव र सहिष्णुता भविष्यमा अझै प्रगाढ बन्ने आधारहरू खडा गरेको छ।

यत्तिकैमा करिव पौने दुई घण्टापछिको प्रतिक्षापछी दर्शन गर्ने पालो हाम्रो आयो। आफुसँगको फुल,अक्षता,भेटी अर्पण गरें।एकपटक डा आरजु देउवासँग भएको कुराकानी प्रदिप गिरीको मुखबाट सुनेको थिए।‘महिनावारी’ भएको बेलामा तपाईलाई कस्तो लाग्छ भनेर सोध्दा उहाँले भन्नुभएछ “अन्यत्र मलाई केही असहज हुँदैन तर भगवानको मन्दिरमा मैले ढाँट्न सक्दिन “उहाँ एक आधुनिक महिला हो”।

मैले पनि भगवान छैनन भन्ने बहस धेरैपटक गरेको छु। भगवानको अस्तित्वलाई अस्वीकार गरेर भौतिक कुरामात्रै गरेको छु, जव भगवानको मुर्ती अगाडी आफै उभिए आस्था,परम्परा र भक्तिभावलाई तर्कले परिभाषित गर्न नसकिदो रहेछ भन्ने आभाष भो। एकछिनको दर्शनपछी हामी फर्कियौं मेरा जुत्ता हराएनन्, गजाको स्वाद पुरानै थियो।

(खनाल नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ